प्रगतिको आधारः पूर्वाधार विकास


  • change font
  • change font
  • change font

काठमाडाैं- सन् ६० को दशकमा गृहयुद्धबाट थलिएको दक्षिण कोरियाले पञ्चवर्षे गुरुयोजनामार्फत पूर्वाधार विकासमा ठूलो लगानी गर्‍यो । जसले पूरै देशलाई प्रगतिको दिशातर्फ डोर्‍याएको इतिहास हामीसामु छ । यही पूर्वाधार विकास दक्षिण कोरियाको औद्योगिक क्रान्ति र आर्थिक प्रगतिको जरो बन्नपुग्यो ।

 

२०७२ को भूकम्पले नेपाली जनजीवनका साथै अर्थतन्त्र अस्तव्यस्त हुनपुग्यो । त्यो दुःखद दिनले धेरैले आफन्त गुमाउनुपर्‍यो भने कयौँको घर उजाडियो । नेपालको भौगोलिक अवस्थाले पनि राहत तथा उद्दारमा कठिनाइ भएको हो । सिंगो राष्ट्रले नै आपद्को घडीमा पूर्वाधारको महत्त्व महसुस गर्‍यो । गुणस्तरीय पूर्वाधार विकास गरी भविष्यमा आइपर्न सक्ने संकटको घडीमा राहत तथा उद्दारलाई प्रभावकारी बनाउन सकिन्छ र राष्ट्र निर्माणमा अग्रसर हुन सकिन्छ ।

 

नेपालको अर्थतन्त्र अहिले पनि परम्परागत आर्थिक संरचनामै रुमलिइरहेको छ । यहाँ आर्थिक विकासका लागि प्रशस्त ठाउँ छ । विकसित देशहरूको जस्तो ‘स्याचुरेसन प्वाइन्ट’ मा नेपाली अर्थतन्त्र पुगेकै छैन । प्राकृतिक साधन-स्रोतको पनि उपलब्धता छ । युवा जनशक्ति प्रशस्त छ तर आर्थिक विकासले गति लिएको छैन । किन ? किनभने, त्यसका लागि चाहिने भौतिक पूर्वाधार अभाव छ ।

 

समग्रमा नेपालको आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य छ । गाउँ-गाउँमा बाटाघाटाजस्तो पूर्वाधार निर्माण गरेरै पर्यटनको विकास, गाउँका कृषि उत्पादन सहरमा बेच्ने अवस्था, साना तथा मझौला उद्योगलाई बजारसँग जोड्ने कडी, सिँचाइको विकास गर्दै कृषि उत्पादन वृद्धि, मलखादको सहज आपूर्ति हुने हो । जलविद्युत्जस्ता पूर्वाधार निर्माण गरेरै औद्योगिक उत्पादनको लागत घटाएर प्रतिस्पर्धी ढंगले औद्योगिक उत्पादन गर्न सकिन्छ । नेपालले आर्थिक खम्बाको रूपमा पनि कृषि, जलविद्युत्, पर्यटनजस्ता क्षेत्रलाई मानेकै छ ।

 

नेपालले जुन–जुन क्षेत्रलाई आफ्नो आर्थिक विकासको मेरुदण्डको रूपमा लिएको छ, ती सबै क्षेत्रको केन्द्रमा भौतिक पूर्वाधार विकास रहेको छ । पर्यटन, जलविद्युत् र साना तथा मझौला व्यवसाय नेपाली अर्थतन्त्रका मेरुदण्ड हुन् । यी सबै क्षेत्रको प्रभावकारी विकासको केन्द्रमा भौतिक पूर्वाधारको विकास रहेको छ । बाटो, रेल पूर्वाधार, सुक्खा बन्दरगाहा, विमानस्थल,जलविद्युत्, सिँचाइ आदि क्षेत्रमा पूर्वाधारको विकास गर्न सके आर्थिक वृद्धि तीव्र गतिले गर्न सकिने र गरिबीको रेखामुनिको जनसंख्यालाई मध्यम वर्गमा लैजान सकिने विषय अब दोहोर्‍याइरहनु परोइन ।

 

विकेन्द्रीकृत पूर्वाधार विकास नै योजनाबद्ध सहरीकरण तथा औद्योगिकीकरणको जग हो । नेपाल यस्तो देश हो, जहाँ राजमार्ग निर्माण हुनुभन्दा पहिले नै मोटरगाडी श्रमिकहरूको काँध चढेर भित्रियो ।  समयमै पूर्वाधार विकास हुन नसकेर अव्यवस्थित सहरीकरणले हाम्रा सहर कुरुप बन्नपुगेका छन् । यसको समाधान र योजनाबद्ध सहरीकरण, औद्योगिकीकरण तथा व्यवस्थित आर्थिक करिडोरको सारथि भनेको पूर्वाधार विकास नै हो । 

 

दिगो तथा गुणस्तरीय पूर्वाधार विकासले नै नेपाली अर्थतन्त्रलाई चौतर्फी प्रगतिको अवसर प्रदान गर्न सक्छ । नेपाली कृषि उब्जनीलाई बजार पहुँचका साथै उचित सिँचाइबाट किसानको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन सकिन्छ । राष्ट्रको अर्बाैँ रुपैयाँ निकासा रोकिनुका साथै ग्रामीण अर्थतन्त्र पनि चलायमान बनाउन सकिन्छ । साथै, ठूला पूर्वाधार विकासले रोजगार प्रदान गरी जनशक्ति पलायन हुने क्रम अन्त्य हुन सक्छ । राष्ट्रिय राजमार्ग, जलविद्युुत् परियोजना, सञ्चार क्षेत्रमा लगानी र भौतिक संरचना निर्माणले नेपालको साना र मध्यमस्तरीय उद्योग विकासमा मद्दत गर्दछ । 

 

कुनै देशको राष्ट्रिय उत्पादकत्वमा जनशक्तिको सीप र क्षमताको ठूलो भूमिका हुन्छ । जनशक्तिको सीप र क्षमता बढाउन देशले कदम चाल्न जरुरी देखिन्छ । सुरुका केही ठूला स्तरका पूर्वाधार विकासमा खटिने वैदेशिक दक्ष जनशक्ति र प्रविधिबाट नेपाली जनशक्तिको क्षमतामा वृद्धि हुन सक्छ । साथै, भविष्यमा राष्ट्रिय गौरवका आयोजना निर्माण गर्दा सीप र प्रविधिमा नेपाल विस्तारै आत्मनिर्भर भई सुनौलो भविष्यको जग राख्न सक्छ । गत तीन दशकमा पूर्वाधार क्षेत्रमा क्रान्ति ल्याउन सफल मुलुक दक्षिण कोरियाले पनि यही फर्मुला अपनाएको पाइन्छ ।

 

नेपालबाट रोजगार तथा शिक्षाको अवसर खोज्दै युवाहरू दैनिक हजाराँैको संख्यामा विदेसिने क्रम जारी छ । यदि  नेपालमा उच्चस्तरीय शिक्षा, रोजगार र जीवन स्तरको अवसर हुने हो भने यो क्रम रोकिन सक्छ । पूर्वाधारको विकासबाटै युवाहरूमा सकारात्मक ऊर्जाको सञ्चार हुनुका साथै आर्थिक क्रियाकलापलाई चलायमान बनाउन सकिन्छ । अन्ततः युवाहरूमा रहेको उच्चस्तरीय जीवन बाँच्ने आकांक्षा पूर्ति हुन्छ ।


पूर्वाधार परियोजनालाई दिगो बनाउन र समग्र सामाजिक परिवर्तन वहन गर्न समुदाय स्तरबाटै सहभागिता आवश्यक पर्दछ । विकास क्षेत्रमा लगानी बढ्दा स्वतः स्थानीय जनसहभागिता बढ्न जान्छ र समुदाय स्तरमै सकारात्मक सञ्चार हुन्छ । यसरी स्थानीय तहमा पूर्वाधार परियोजनाप्रति अपनत्व वृद्धि भएर विकास निर्माणका कार्य दिगो हुन जान्छन् । नेपालकै सामुदायिक वनको अवधारणाले जनसहभागिताद्वारा वन संरक्षण कार्यक्रम सफल भएको उदाहरण विश्वसामु छ । 


अहिलेसम्म भएका पूर्वाधार विकासको केन्द्रमा गुणस्तरको महत्त्व आउन सकेको छैन । निर्माण सामग्री वा निर्माण उपकरणको गुणस्तरमा ध्यान दिने हो भने निर्माण सम्पन्न नै नभएर भत्किने पुल र सडकका समाचार बिरलै सुन्न पाइनेछ । यस्तो अभ्यासले राज्यको स्रोत-साधनबाट अधिकतम लाभ उठ्न सक्छ । निर्माण समान र उपकरण खरिदमा एउटा निश्चित मापदण्ड स्थापित गरी र त्यसको नियमित अनुगमनले गुणस्तरीय पूर्वाधार एवं त्यसले ल्याउने दिगो विकासलाई सुनिश्चित गर्दछ ।


पूर्वाधार विकासले समग्र अर्थतन्त्र चलायमान बनाउनुका साथै राष्ट्रिय उत्पादन निर्यात गर्न ठूलो भूमिका खेल्छ । अन्तरदेशीय व्यापारको सक्षमकर्ता भनेको बन्दरगाह, राजमार्गको विस्तार, भन्सार व्यवस्थापन, विद्युत् तथा सञ्चार सेवा र वित्तीय पूर्वाधार हुन्। छिमेकी भारतको गुजरात राज्यले निर्यातमैत्री पूर्वाधार विकासमा जोड दिएर निर्यातको केन्द्र बन्न पुगेको छ । ठूला बन्दरगाह, चौडा राजमार्ग, व्यवस्थित औद्योगिक पूर्वाधारले नै गुजरातलाई निर्यातमुखी अर्थतन्त्र बनाएको छ । नेपालले पनि गुजरातको सकारात्मक सिको गर्दै पूर्वाधारमा जोड दिने हो भने अर्थतन्त्रमा निर्यातको हिस्सा बढाउन सकिन्छ । 


भौतिक पूर्वाधारको विकासका कारण समग्र देशकै आर्थिक विकासले गति लिएको उदाहरण हाम्रासामु प्रशस्तै छन् । बाटोघाटो, पुल इत्यादि निर्माणले दोस्रो विश्व युद्धताका गरिब देशको सूचीमा रहेको जापानले गरेको आर्थिक प्रगति हाम्रैसामु छ । अहिले विश्वको आर्थिक महाशक्ति बन्ने बाटोमा लागेको चीन पनि भौतिक पूर्वाधार निर्माणमा तीव्र गतिमा अगाडि बढेको छ । त्यसैले नेपालका निम्ति प्रगतिको अवसर पूर्वाधार विकास नै हो ।