close

विपद्को त्रासः २ सातामा ३३ जनाले गुमाए ज्यान, अझै टरेको छैन खतरा

विपद्को त्रासः २ सातामा ३३ जनाले गुमाए ज्यान, अझै टरेको छैन खतरा

Trulli
ADVERTISEMENT

काठमाडौं- गत ३१ जेठदेखिको मनसुन सुरु भएयता बाढीपहिरोलगायत विभिन्न विपत्तिमा परेर बिहीबारसम्म ३३ जनाको मृत्यु भएको गृह मन्त्रालयले  पछिल्लो तथ्यांक सार्वजनिक गरेको छ । प्राकृतिक विपद्कै कारण ३० जना बेपत्ता भएका छन् भने अन्य ३० जना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 


बुधबारदेखि मनसुनी वायु पुनः सक्रिय भएकाले थप क्षतिको सम्भावना बढेको मन्त्रालयको भनाइ छ । केन्द्रका प्रमुख दिलकुमार तामाङका अनुसार यो अवधिमा विपद्का कारण ४७५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११२ घरमा आंशिक क्षति पुगेको छ ।


भौतिक क्षतितर्फ ३६ वटा सरकारी कार्यालय, ६ वटा सामुदायिक भवन र विद्यालय, २२ वटा झोलुंगे पुल, १३ वटा पक्की पुल, जलविद्युत् आयोजना १३ वटा, काठे पुल ५ वटा र २ वटा वित्तीय संस्था प्राकृतिक विपत्तिका कारण क्षतिग्रस्त बनेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।


२८ जेठबाट नेपालमा मनसुन भित्रिएको हो । त्यसयताको पाक्षिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भएका क्षतिको व्यवस्थापन र अबका दिनमा त्यसको न्यूनीकरणका लागि सामूहिक पहल गरिरहेको बताएको छ ।

 

३१ जेठदेखि १५ असारसम्म बाढीले बगाएर १५, पहिरोमा पुरिएर ११ र भारी वर्षाका कारण १ जना गरी २७ जनाको मृत्यु भएको हो । यो अवधिमा ६७६ घरपरिवार विस्थापित भएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।


सबैभन्दा बढी सिन्धुपाल्चोक र मनाङमा क्षति भएको प्राधिकरणले जनाएको छ । सार्वजनिक प्रतिवेदनअनुसार यी २ जिल्लासहित मनसुनी प्रकोपका कारण देशका २६ जिल्ला प्रभावित बनेका छन् । ६८ स्थानमा पहिरो र ३३ वटा खोलामा बाढी आएको छ । मनसुनी विपद्का कारण देशका विभिन्न प्रमुख राजमार्ग अवरुद्ध हुने र खुल्ने क्रम जारी छ ।


विपद्मा परेकालाई केन्द्रबाट तत्काल राहत सामग्री उपलब्ध गराइएको छ । प्राधिकरणका अनुसार विभिन्न जिल्लामा ११२९ थान टेन्ट, ३ हजार थान त्रिपाल, प्लास्टिक सिट ६० थान, कम्बल १० थान, स्लिपिङ ब्याग १४४ थान, ब्लांकेट ८० थान, जेनेरेटर २ थान, ग्याबिन तार ५ सय थानलगायत सामग्री पठाइएको छ ।


बाढीपहिरोका कारण १४ सडक खण्ड ठप्प, नारायणघाट-मुग्लिङ सडक पुनः बन्द

बाढीपहिरोका कारण देशभरका १४ सडक खण्ड बन्द भएको सडक विभागले जानकारी दिएको छ । ४९ सडक खण्ड एकतर्फी सञ्चालन भइरहेका छन् । चितवनको नारायणघाट-मुग्लिङ सडक खण्डमा पहिरो गएपछि शुक्रबारदेखि बन्द भएको विभागले बताएको छ ।

 

चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले बिहानैदेखि सडक खण्ड बन्द भएको हो । डोजर लगाएर पहिरो हटाउने काम भइरहे पनि सडकमाथिबाट ढुंगा खसिरहेकाले जोखिम बढेको भन्दै प्रहरीले अत्यावश्यक काम नपरी यात्रा नगर्न आग्रह गरेको छ ।

 

यस्तै पहिरोका कारण मकवानपुरबाट भीमफेदी-कुलेखानी हुँदै काठमाडौं आउने सडक पनि बन्द भएको छ । ठोरी-भरतपुर-मुग्लिङ आँबुखैरेनी-गोरखा-घयाम्पेसा र आरुघाट-सिर्दिवास-रोइला भन्ज्याङ सडक खण्ड पनि खुलेको छैन । 


मनाङको डुम्रे बेसीसहर-चामे सडक खण्ड पनि ठाउँ-ठाउँमा बन्द छ । मनाङको तिमाङखोला, धारापानी, बगरछाप, रामबजार, अर्खले र च्याम्चेमा कतै पहिरो त कतै कटानका कारण सडकमा नोक्सानी पुगेको सडक विभागले बताएको छ ।

 

अरनिको राजमार्ग अन्तर्गत पर्ने खाडीचौर-कोदारी सडक खण्ड पनि अझै सञ्चालनमा आउन सकेको छैन । गत २ असारदेखि बन्द यो सडक खण्ड खुलाउने प्रयास भइरहेको छ ।


मनसुनको सक्रियता लम्बिने

थप केही दिन मनसुनी वर्षा नरोकिने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा हुने र केही बेर रोकिने गर्दै लगातार ३/४ दिन निरन्तर यो क्रम जारी रहने देखिएको मौसमविद् राजु प्रधानांगले बताए ।

 

तराई नजिक रहेको मनसुनी न्यून चापीय रेखा हलचल नगरी बसिरहेकाले प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा वर्षा बढी भइरहेको छ ।