close

चित्र कोरियो, मेटियो, फेरि लेखियो... मुर्दावाद !

चित्र कोरियो, मेटियो, फेरि लेखियो... मुर्दावाद !

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौैं महानगरपालिकाले बुधबार रत्नपार्कको अकासे पुलको भित्तामा कोरिएको एक भित्ते चित्र मेटायो । दुजाङ शेर्पाको डिजाइनमा कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा खटिएका व्यक्तिको सम्मानका लागि केही साता अघिमात्र चित्रकार साङ्गे थिङ लामा, सुमिना श्रेष्ठ, कृपा शेर्पालगायतले कोरेका थिए ।

 

त्यहाँ डाक्टर, नर्स, पत्रकार, प्रहरी, सशस्त्र प्रहरी लगायतको तस्वीर बनाइएको थियो । उनीहरूले आफ्नै लाखौँ खर्चमा ७ दिन लगाएर चित्र कोरेका थिए । ती चित्र धेरैले रुचाएका थिए । प्रशंसा गरेका थिए । तर ती उनीहरूको मिहिनेत केही मिनेटमै मेटियो । 

 

महानगरले चित्र मेटेपछि भित्तोमा आँखा पर्यो, नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको । महानगरको यो हर्कतको विरोधमा उनीहरुले लेखेका छन्- काठमाडौं महानगरपालिका मुर्दावाद, बिद्यासुन्दर शाक्य मुर्दावाद । 


काठमाडौंको वडा नम्बर २८ पुरानो बसपार्कले सन्देशमूलक मुरलका लागि अनुमति दिएको थियो । तर, महानगरपालिकाले भने वडाको अनुमतिले मात्रै नपुग्ने बताउँदै मुरल मेटाएको बताएको छ । 

 

महानगरका अनुसार भित्तामा पर्चा, पम्प्लेट, चित्र कोर्न पाइँदैन । महानगरपालिकाले २०५८ सालदेखि भित्तामा चित्र कोर्न, चुनावको प्रचारप्रसारका लागि लेख्न, पर्चा टाँस्न प्रतिबन्ध लगाएको छ । महानगरलाई जानकारी नगराई चित्र कोरिएपछि मेटिएको तर्क महानगरको छ । 

 

काठमाडौंका कतिपय स्थानमा यसरी नै विना जानकारी चित्र कोरिएका छन् । कतिपय भित्तामा राजनीतिक धारणा लेखिएको छ । तर, महानगरको त्यसतर्फ कहिले ध्यान गएको पाइँदैन । महानगरको मातहत रहेका यात्रु प्रतिक्षालय पर्चा, पम्पलेटले भरिएका हुन्छन् । 

 

तर, त्यसतर्फ महानगरको ध्यान जाँदैन । तर, कोभिडविरुद्धको युद्धमा अहोरात्र खटिएकाको चित्र मेटाउन भने महानगर उद्दत भएको भन्दै राजनीतिक दलले समेत उक्त कदमको विरोध गरेका छन् । कांग्रेसले विज्ञप्ति नै जारी गर्दै घटनाप्रति निन्दा गरेको छ । कलाकारको अपमान गरेको विज्ञप्तिमा भनिएको छ । तर, महानगर भने भावनामा नभई नियम अनुसार चल्नुपर्ने बताउँछ । 


पछिल्लो समय काठमाडौं महानगर आलोचनाबाट बाहिर निस्कन सकेको देखिँदैन । महानगरले गत सोमबार अनामनगर पूर्वीगेट अगाडि रहेको सार्वजनिक जग्गामा निःशुल्क खाना खुवाउँदै आएको ‘हाम्रो टिम नेपाल’को खाना पकाउन बनाएको टहरा भत्काइदिएएको थियो । 

 

त्यति मात्रै होइन सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा प्रहरीले टिम नेपालका अध्यक्ष विमल पन्तसहित १८ भन्दा बढी अभियन्ताहरूलाई पक्राउ गरेको थियो । महानगरपालिकाले टहरा भत्काएपछि मजदुरी र गरिबीको भोको पेटमाथि लात हानेको भन्दै सर्वसाधारणले सामाजिक सञ्जाललगायत माध्यामबाट चर्को आलोचना र विरोध गरिरहेका छन् ।