close

अध्यागमनका स्थगित सबै सेवा सुरु

अध्यागमनका स्थगित सबै सेवा सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं- कोभिड-१९ को दोस्रो लहरको सम्भावित जोखिम न्यूनीकरणका लागि अध्यागमन विभागले स्थगित गरेका सम्पूर्ण सेवा शुक्रबारदेखि पूर्ववत् सुरु भएका छन् । विभागले ५ जेठमा सूचना जारी गर्दै आकस्मिकबाहेकका अन्य सेवा स्थगित गरेको थियो ।


पछिल्ला दिनमा कोभिड संक्रमण घट्दै गएको, अन्तर्राष्ट्रिय एवं आन्तरिक उडान सुचारु हुन थालेको र स्थानीय प्रशासनबाट जारी निषेधाज्ञा केही खुकुलो भई सार्वजनिक सवारी साधनसमेत सञ्चालन हुन थालेकाले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी भिसासम्बन्धी सबै सेवा सञ्चालन गर्ने निर्णय गरिएको विभागले जनाएको छ ।


विभागको उक्त निर्णयअनुसार गत १५ वैशाखसम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा २४ असारभित्र नेपालबाट प्रस्थान हुने भए प्रस्थानको समय अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै निःशुल्क भिसा नियमित गरिनेछ ।


यस्तै, नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्न विभाग वाअन्तर्गतका कार्यालयमा आवेदन गरे विलम्ब शुल्क र जरिमाना नलिई भिसा नियमित गरिने बताइएको छ । २४ असारपछि भिसा नियमित गर्न आउने र नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियमानुसार भिसा शुल्क, विलम्ब शुल्क र जरिमाना लाग्ने उल्लेख छ ।


प्रचलित अध्यागमन कानुनमा रहेको प्रावधानमा एक भिसा वर्षमा पर्यटक भिसामा १५० दिनसम्म मात्र बस्न सकिने व्यवस्था रहेकाले ५ जेठको सूचनामा निषेधाज्ञाको अवधि सो १५० दिनमा गणना नहुने उल्लेख भएकाले निषेधाज्ञाको अवधि थप गरी भिसा वर्षका लागि २१० दिनसम्म बस्न सकिने गरी कायम गरिएको जानकारी विभागले दिएको छ ।