close

अघि-अघि जेसिभी, पछि-पछि संक्रमित बोक्ने गाडी 

अघि-अघि जेसिभी, पछि-पछि संक्रमित बोक्ने गाडी 

Trulli
ADVERTISEMENT

खोटाङ- अघि-अघि जेसिभी हुइँकिइरहेको छ । पछि-पछि बा२झ ३४६७ नम्बरको गाडी । सडकको हिलो पन्छ्याउँदै र खाल्डाखुल्डी पुर्दै हिँडेको जेसिभीलाई गाडीले पछ्याइरहन्छ ।

 

यो दृश्य खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेल बजारको अस्पताल चोकबाट वडा नम्बर ५ लफ्याङ जाने सडकमा देखिएको हो ।

 

नगर प्रमुख दीपनारायण रिजालले प्रयोग गर्दै आएको बा२झ ३४६७ नम्बरको गाडीको कन्ट्रोल चालक काजी गुरुङको हातमा थियो । उनी कोभिड-१९ बाट संक्रमित बिरामी लिन अघि-अघि जेसिभी लगाएर लफ्याङतिको गन्तव्य पछ्याइरहेका थिए ।

 

३/४ दिनसम्म ओछ्यानमा थलिएकी ४० वर्षीया मुग्राती थरकी महिलालाई अस्पताल लैजान नगरपालिकाबाट जेसिभीसहितको गाडी मगाइएको वडा नम्बर ५ लफ्याङका वडाध्यक्ष निर्मला राईले बताए ।

 

हाल वर्षाको सिजन सुरु भएको छ । वर्षा सुरु भएसँगै जिल्लाका अधिकांश कच्ची सडक हिलाम्मे बन्न पुगेका छन् । हिउँदमा जेनतेन गाडी गुड्ने सडकमा हाल हिलो जमेकाले गाडी भासिने अवस्था छ ।

 

बिरामी बोक्ने क्रममा सडकमै गाडी भासिने वा अड्किने भएकाले जेसिभीसहित गाडी झिकाइएको वडाध्यक्ष राईले सुनाए । अघि-अघि जेसिभी लगाएर अस्पताल पुर्‍याइएकी महिलालाई कोभिड संक्रमण पुष्टि भएको छ ।

 

उनलाई नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा बनाएको आइसोलेसन सेन्टरमा लगिएको छ । वर्षाका कारण जिल्लाका कच्ची सडक हिलाम्मे हुँदा एम्बुलेन्स आउजाउमा समेत समस्या हुन थालेको छ ।

 

एम्बुलेन्स चल्ने अवस्था नहुँदा कतिपय स्थानीय तहमा संक्रमितलगायत अन्य बिरामीलाई स्वास्थ्य संस्थामा पुर्‍याउन कठिन हुन थालेको जनप्रतिनिधिको भनाइ छ ।

 

‘अहिले कच्ची सडकको अवस्था खराब बनेको छ,’ वडाध्यक्ष राईले भने, ‘त्यही भएर बिरामी बोक्ने क्रममा नगरपालिकालाई गाडीसँगै सडक सफा गर्ने जेसिभी मागेका हौँ ।’