close

आवास अनुदानको तेस्रो किस्ता लिन कात्तिक मसान्तभित्रै घर ठड्याउनुपर्ने उर्दी

आवास अनुदानको तेस्रो किस्ता लिन कात्तिक मसान्तभित्रै घर ठड्याउनुपर्ने उर्दी

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जुनसुकै कारणले हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिने गरी घर पुनर्निर्माण गर्न आग्रह गरेको छ ।

 

प्राधिकरण कार्यकारी समितिको बैठकले त्यस्ता पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवेदन दिन अनुरोध गरेको हो ।
अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको कबुलियतनामा फाराम भर्नुपर्नेछ । लाभग्राही प्राधिकरणले तोकेको मापदण्ड र समयसीमाअनुसार पुनर्निर्माण गर्न मञ्जुर हुनुपर्नेछ । 

 

त्यसलाई सम्बन्धित वडा अध्यक्षले सिफारिससमेत गर्नुपर्नेछ । त्यसपछि प्राधिकरणको जिल्ला इकाइले जिल्ला सहजीकरण समितिको निर्णयअनुसार सम्झौता गराउने वा बाँकी किस्ता उपलब्ध गराउनेछ ।

 

बैठकले निर्माण भइसकेका निजी आवास निर्धारित मापदण्डबमोजिम सुधार गर्नुपर्ने भनी सम्बन्धित प्राविधिकले गरेको सिफारिसअनुसार सुधार गर्न सहमत लाभग्राहीलाई अनुदानको बाँकी किस्ता भुक्तानी गर्ने पनि निर्णय गरेको छ ।

 

यस्ता घरका लागि लाभग्राहीले अनुदानको किस्ता लिई सकेपछि प्राविधिकको सुझावअनुसार स्थानीय तहबाट सुधार गरी निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि स्थानीय तहमा दाबी गर्ने कबुलियतनामा गर्नुपर्नेछ ।

 

अनुदान लिएर घरमा आवश्यक सुधार कार्य गरी सुरक्षित नबनाएमा प्राधिकरण र स्थानीय तहले तोकेको कारबाही भोग्न लाभग्राही तयार हुनुपर्नेछ । त्यस्तै, कार्यकारी समितिले विविध कारणवश हालसम्म जग्गा खरिद गर्न नसकी पुनर्निर्माण गर्न नसकेको भूमिहीन वा जोखिम बस्तीका लाभग्राहीलाई २०७८ भदौ मसान्तसम्म जग्गा खरिदको कार्य सम्पन्न गर्न पनि आग्रह गरिएको छ ।

 

यस्ता लाभग्राहीले पनि कात्तिक मसान्तसम्म अनुदानका किस्ता लिने गरी घर निर्माण गर्नुपर्नेछ । यसअघि १० असार २०७८ मा प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले कात्तिक मसान्तसम्मलाई निजी आवास अनुदान लिने अन्तिम समयसीमा निर्धारण गरेको थियो ।

 

उक्त बैठकले प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्य प्रणाली उक्त अवधिसम्म निरन्तर रहने पनि निर्णय गरेको थियो । प्राधिकरणका अनुसार बिहीबारसम्म ८ लाख ५८ हजार २८२ जना पुनर्निर्माण लाभग्राही निक्र्योल भएका छन् । यीमध्ये ९५.३७ प्रतिशत अर्थात् ८ लाख १८ हजार ६२४ ले अनुदान सम्झौता गरेका छन् ।

 

अनुदान सम्झौता गरेकामध्ये पहिलो किस्ता लिने घरधुरी ८ लाख १६ हजार ६७० (९९.७६ प्रतिशत), दोस्रो किस्ता लिने घरधुरी ७ लाख २७ हजार ३२८ (८८.८४ प्रतिशत) र तेस्रो किस्ता लिने घरधुरी ६ लाख ६५ हजार २३३ (८१.२६ प्रतिशत) पुगेका छन् ।

 

त्यस्तै, अनुदान सम्झौता गरेकामध्ये ७४.६८ प्रतिशत अर्थात् ६ लाख ११ हजार २४१ घरधुरीले निजी आवास पुनर्निर्माण सम्पन्न गरिसकेका छन् भने हाल पुनर्निर्माण गरिरहेका लाभग्राहीको संख्या १ लाख ४६ हजार १५३ छ, जुन अनुदान सम्झौता गरेकामध्ये १७.८६ प्रतिशत हो । घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५७ हजार ३९४ पुगेको छ, जुन अनुदान सम्झौता गरेकामध्ये ९२.५३ प्रतिशत हो । 

 

प्रबलीकरण लाभग्राहीमध्ये कैयौँ पुनर्निर्माण लाभग्राहीमा परिवर्तन भएपछि हाल तिनको संख्या ५३ हजार ९५८ कायम भएको छ, जसमध्ये ८४.९१ प्रतिशत अर्थात् ४५ हजार ८१४ ले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये ४५ हजार ७८१ अर्थात् ९९.९३ प्रतिशतले पहिलो किस्ता लिइसकेका छन् ।