close

समुद्रटार–त्रिशूली ३ बी हब प्रसारण लाइन : प्रधानमन्त्री ओलीले गरे उद्घाटन

समुद्रटार–त्रिशूली ३ बी हब प्रसारण लाइन : प्रधानमन्त्री ओलीले गरे उद्घाटन

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको समुद्रटार–त्रिशूली ३ बी हब १३२ केभी डबल प्रसारण लाइन र सबस्टेसनको उद्घाटन गरेका छन् । 

 

प्रधानमन्त्री ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट नुवाकोटमा निर्माण भएको प्रसारण लाइन र १३२/३३ केभी समुद्रटार सब–स्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् । 

 

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुद्रटारबाट सुरु भई किस्पाङ पालिकामा निर्माणाधीन त्रिशूली ३ हब सब–स्टेसनसम्मको २६ किलोमिटर प्रसारण लाइनले २७० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्नेछ । यो लाइनमा जोडिने गरी तादी खोला र यसका सहायक खोलामा निजी लगानीमा ६० मेगावाटका १० जलविद्युत् आयोजना निर्माणको विभिन्न चरणमा छन् । 

 

२६ किलोमिटर प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । यसमध्ये २ सर्किट लाइन जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त प्रवद्र्धनमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्नेछ । 

 

समुद्रटार सबस्टेसनमा १३२/३३ केभीतर्फ २ थान ३० एमभीए क्षमताका ट्रान्सफर्मर र ३३/११ केभीतर्फ २ थान ८ एमभीए क्षमताका ट्रान्सफर्मर जडान गरिएको छ । १३२ तर्फ ५ वटा बे र ३३ केभीतर्फ ४ वटा वे उपकरण जडान गरी सञ्चालनमा ल्याइएको छ । सबै उपकरणलाई अत्याधुनिक सब–स्टेसन अटोमेसन प्रणालीबाट नियन्त्रण गरिनेछ ।

 

सब–स्टेसनबाट स्थानीय रूपमा पनि विद्युत आपूर्ति गरिने भएकाले नुवाकोटको पूर्वी भेगमा विद्युत् भोल्टेजको सुधार र कटौती समस्या समाधान हुनेछ । सरकारको लगानी, एसियाली विकास बैंक र युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माण भएको प्रसारण लाइन र सब–स्टेसनको कुल लागत १ अर्ब ५५ करोड रुपैयाँ छ । 

 

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत प्रसारण लाइन निर्माणका लागि इटिइआरएन सिसिसिई एफइपिइसी जेभी चीनसँग १३ मंसिर २०७३ मा ठेक्का सम्झौता भएको थियो ।

 

सब–स्टेसन ३३ रोपनी जग्गामा फैलिएको छ । प्रसारण लाइनको टावरका लागि २१ रोपनी र तारमुनि ९ सय ४८ रोपनी जग्गा उपयोग गरिएको छ ।

 

बालुवाटारमा भएको कार्यक्रममा उपप्रधा एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री विष्णु पौडेल, मुख्य सचिव शंकरदास बैरागी, ऊर्जा, जलस्रोत एवं सिंचाइ सचिव देवेन्द्र कार्की, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायत उपस्थित थिए ।