close

बेनी बजारका सार्वजनिक जग्गा व्यावसायीको कव्जामा (भिडियाे खबर)

व्यवासायीको दादागिरीले नगरको ४३ लाख जोखिममा

बेनी बजारका सार्वजनिक जग्गा व्यावसायीको कव्जामा (भिडियाे खबर)

व्यवासायीको दादागिरीले नगरको ४३ लाख जोखिममा

ADVERTISEMENT

म्याग्दी - सदरमुकाम बेनी बजारमा रहेका सार्वजनिक जग्गामा व्यापारीले कब्जा जमाएका छन् । सार्वजनिक जग्गा उपभोग गरेबापतको करिब साढे ४१ लाख रुपैयाँ भाडा तिर्न पनि आनाकानी गरिरहेका छन् । 


नगरपालिकालाई भाडा नतिरेर अटेरी गर्नेहरूमा ठेला र ट्यांकीमा व्यापार गर्ने, मासु व्यापारीदेखि करोडौंको जेथा भएका यातायात व्यवसायी कम्पनी पनि छन् । सबैभन्दा बढी टिकट काउन्टर राखेका यातायात कम्पनीहरूको ०७७ भदौ मसान्तसम्म २३ लाख ६५ हजार रुपैयाँ बक्यौता बाँकी रहेको नगरपालिकाको राजस्व शाखाले जनाएको छ । 


सार्वजनिक जग्गामा निर्मित टहरा, सटर, ठेला र ट्यांकीमा पसल राखेका ३० व्यापारीसँग भाडाबापत १७ लाख ८३ हजार रुपैयाँ बक्यौता असुल्न बाँकी देखिएको राजस्व शाखाका प्रमुख प्रकाश सुवेदीले बताए ।


 ‘हामीसँग भएको विवरण ०७४ यताको हो’, उनले भने, ‘पुरानो अभिलेख नहुँदा समस्या भएको छ । कार्यपालिकाले गठन गरेको समिति र नापी शाखामार्फत अन्य ठाउँको सार्वजनिक जग्गाको पनि अध्ययन भइरहेको छ ।’


नगरसभाले प्रतिवर्ष १० प्रतिशतका दरले भाडा बढाउने निर्णय गरेको छ । गत आर्थिक वर्षमा भएको लकडाउनका कारण एक महिनाको भाडा छुट गरिएको छ । ३ ठाउँमा काउन्टर राखेको तत्कालीन धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिको नाममा ६ लाख ९० हजार रुपैयाँ बक्यौता देखिएको छ ।


यस्तै, तत्कालीन म्याग्दी जिप तथा बस सञ्चालक समितिले ७ लाख १० हजार, म्याग्दी ट्याक्सी व्यवसायी समितिको ४  लाख १० हजार, पोखरा–बागलुङ–बेनी ट्याक्सी इकाइ समितिको १ लाख ३० हजार, बाग्लुङ भगवती यातायातको १  लाख ३० हजार र संयुक्त यातायातको १ लाख ७५ हजार रुपैयाँ बक्यौता छ । 


वीरेन्द्रचोक, नगरपालिका अगाडि मंगलाघाट र कालीपुलमा जग्गा भाडा लिएर ठेला, टहरा र ट्यांकी बनाई पसल सञ्चालन गरेका २३ साना व्यापारीले पनि भाडा तिरेका छैनन् । हाडेभीरमा वधशाला प्रयोग गरेबापत मासु व्यवसायीले १ लाख ४४ हजार रुपैयाँ तिर्नुपर्ने देखिएको छ । 


कालीपुलका कृष्णबहादुर क्षेत्रीको नाममा ३८ हजार ३७, लक्षुमण श्रेष्ठको नाममा ७४ हजार १ सय ७२, भोजबहादुर कार्कीको नाममा १ लाख ६ हजार २ सय ५०, पार्वती बानियाको नाममा ८९ हजार २ सय ६८ रुपैयाँ बक्यौता छ ।


यस्तै, लक्ष्मी बानियाको नाममा १ लाख १६ हजार ९ सय ४, गलेश्वरका हिरा पुर्जा पुनको नाममा १ लाख ५ हजार ९ सय २४ रुपैयाँ बक्यौता देखिएको छ । नियमित भाडा तिर्दै आएका केही व्यवसायीले लकडाउनपछि व्यवसाय नै बन्द भएकाले तिर्न नसकेको बताएका छन् । कालिपुलका खिमबहादुर खत्री, खेमबहादुर केसी, कालीगण्डकी आयल स्टोर्स, गलेश्वर बजार फोहोर, हाडेभीरका कुलप्रसाद घर्ती मगरले भाडामा लिएको जग्गाको नियमित भाडा तिरेका छन् ।


सार्वजनिक जग्गामा बसेकालाई तोकिएको भाडा तिर्न पत्रमार्फत ताकेता गर्नुका साथै समिति बनाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । ‘बक्यौता तिर्न पत्रमार्फत ताकेता र समिति नै बनाएर उठाउन लागेका छौं’, उनले भने, ‘कार्यपालिकाबाट गठित समितिले काम सुरु गरिसकेको छ ।’


नगर कार्यपालिकाको हालैको बैठकले बक्यौता भाडा उठाउन र राजस्वको दायरामा ल्याउन वडा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा २, ४, ६, ८ र ९ नम्बर वडाध्यक्ष सदस्य रहेको समिति गठन गरेको हो ।  समितिलाई सार्वजनिक जग्गामा भएका भौतिक संरचनाको जग्गाको पहिचान, राजस्वको दायरामा ल्याउने जिम्मेवारी दिइएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए  ।


समितिका संयोजक श्रेष्ठले राजस्व शाखामा भएको अभिलेख र स्थलगत निरीक्षण गरेर बक्यौता उठाउन पहल गरिएको जानकारी दिए ।  नगरसभाले सार्वजनिक जग्गामा बसेकाबाट भाडा उठाउने निर्णय गरे पनि विगतमा भएका सम्झौताको अभिलेख नभेटिएकाले समस्या परेको उनको भनाइ छ । सार्वजनिक जग्गामा बनाएको भौतिक संरचना नगरपालिकाको सडक तथा भवन मापदण्डविपरीत छ । लिखित अनुमतिबिनै बनाइएका भौतिक संरचनाको वैधतामाथि प्रश्न उठेको छ ।


पहुँच र शक्तिको आडमा सार्वजनिक जग्गा हड्पेकाहरूलाई हटाउने अथवा लिखित सम्झौता गरी करको दायरामा ल्याउनेतर्फ नगरपालिकाले बेलैमा ध्यान नदिँदा मनोमानी बढेको जनगुनासो छ ।  भाडा दरमा एकरुपता नहुँदा कसरी तिर्ने भन्ने अन्योल देखिएकाले भाडा तिर्ने वातावरण नभएको बेनी यातायात प्रालिका सञ्चालक भोजबहादुर थापा बताउँछन् । 


म्याग्दी यातायात व्यवसायी कम्पनीका कार्यालय प्रमुख देवेन्द्र पौडेल नगरपालिकामा बक्यौता देखिए पनि कालीपुलमा प्रतीक्षालय र सटरसहितको टिकट काउन्टर उपभोग गर्ने सर्तमा अग्रिम ३ लाख रुपैयाँ तिरिसकेको दाबी गर्छन् ।   


सार्वजनिक जग्गा भाडामा लगाएबापत वार्षिक ३० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको बेनी नगरपालिकाले गत आर्थिक वर्ष ०७६÷७७ मा जम्मा १४ लाख ९  हजार २ सय ४ रुपैयाँ मात्र उठाएको थियो । 


मोटरेबल पुल र सडक छेउछाउ निर्माण भएका भौतिक संरचनाका कारण पैदल यात्रु तथा सवारी साधन आउजाउमा समस्या भएपछि दुर्घटनाको जोखिम बढाएको छ ।