close

भकुण्डे बजार अब सिसिटिभीको निगरानीमा 

भकुण्डे बजार अब सिसिटिभीको निगरानीमा 

Trulli
ADVERTISEMENT

काभ्रे- नमोबुद्ध नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र भकुण्डे बजारमा सिसिटिभी निगरानी प्रणाली जडान गरिएको छ । बजार क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणको उद्देश्यले नमोबुद्ध नगरपालिकाले बजार क्षेत्रमा सिसिटिभी जडान गरेको हो ।

 

डिजिटल नमोबुद्धको अवधारणाअन्तर्गत जडान गरिएको सिसिटिभी निगरानी प्रणालीको आइतबार काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले संयुक्तरुपमा उद्घाटन गरे ।


नमोबुद्ध नगरपालिकाले १५ लाख रुपैयाँको बजेटमा १७ स्थानमा १७ वटा क्यामरा जडान गरेको छ । यस्तै तीनवटा क्यामरा प्रहरी चौकी भकुण्डेबेशीमा जडान गरिएको छ । सबै सिसिटिभी क्यामराको कन्ट्रोल प्रहरी चौकी भकुण्डेबेशीबाट हुनेछ ।पछिल्लोपटक भित्रिएको नयाँ प्रविधिसहित उच्च क्षमताका क्यामरा जडान गरिएको छ ।

 

नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले जनप्रतिनिधि आएपछि डिजिटल नमोबुद्धको अभियान सुरु गरिएको र त्यसलाई कार्यान्वयन गर्ने क्रममा बजार क्षेत्रमा सिसिटिभी जडान गरिएको जानकारी दिए । 

 

उनले शिक्षा, स्वास्थ्य, प्रशासनिक लगायतका क्षेत्रमा डिजिटल नमोबुद्धको अवधारणाअनुसार काम भइरहेको, नमोबुद्धको प्रमुख पर्यटकीय क्षेत्र नमोबुद्ध गुम्बा परिसरमा पनि सिसिटिभी क्यामराबाट निगरानीको व्यवस्था यसअघि नै गरिएको जानकारी दिए । वडा कार्यालयबाट अनलाइन प्रणालीमार्फत राजस्व संकलन लगायतका काम पनि भइसकेको तिमल्सिनाले बताए ।

 

काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नगर र नगरबासीलाई सुरक्षित बनाउन नमोबुद्ध नगरपालिकाले लिएको पहलकदमीको प्रशंसा गरे । सिसिटिभी जडान भएपछि नगरभित्र हुने अपराधको अनुसन्धानमा विशेष सहयोग हुने भन्दै पोखरेलले यसका लागि स्थानीय सरकारले दिएको चासो र चिन्ता प्रशंसनीय रहेको बताइ । उनले आगामी दिनमा पनि शान्ति सुरक्षा कायम गर्न नगरपालिका र सुरक्षा निकायको सहकार्यको आवश्यकता औंल्याउँदै त्यसका लागि आवश्यक सहजीकरणको काम जिल्ला प्रशासन कार्यालय काभ्रेले गर्ने बताए । अपराध अनुसन्धानका लागि सिसिटिभीबाट हुने निगरानी विश्वमै भरपर्दो अभ्यासको रुपमा स्थापित भइसकेको उनको भनाई थियो ।

 

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले प्रविधिको उच्चतम प्रयोग गर्दै नगरलाई सुरक्षित बनाउने उद्देश्यले नगरपालिकाले सिसिटिभी जडानको पहलकदमी लिएको बताए । सबै वडामा इन्टनेटको पहुँच पुगेको, राजस्व तिर्नका लागि नगरपालिका वा वडासम्म धाउनुनपर्ने गरी घरबाट इसेवा तथा खल्ती एपबाट तिर्नसक्ने वयवस्था मिलाइएको पौडेलले जानकारी दिए । 

 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक हरि खतिवडाले सिसिटिभी जडान कार्यले नगरमा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी भूमिका खेल्ने बताए । यस्तै नमोबुद्ध नगरपालिकाका सूचना प्रविधि अधिकृत विजय प्रजापतिले सिसिटिभी निगरानी प्रणालीको प्राविधिक पक्षका बारेमा जानकारी दिएका थिए । 


नगरपालिका उपप्रमुख रामदेवी तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, वडा अध्यक्षहरु वडा नं. ४ का उद्धवप्रसाद काफ्ले, वडा नं. ६ का कुलप्रसाद न्यौपाने, वडा नं. ७ का धर्मसिं लामा, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक प्रमिला श्रेष्ठ लगायतको उपस्थिति थियो ।