close

कसले सुन्ने काली आमाको पीडा ? (भिडियो खबर) 

कसले सुन्ने काली आमाको पीडा ? (भिडियो खबर) 

ADVERTISEMENT

कञ्चनपुर- स्थानीय सरकार बनेपछि गाउँगाउँमा सिंहदरबार गएको मानियो । धेरैले स्थानीय स्तरमा विकासको मुल फुटाए । कतिले समृद्धि हासिल गर्ने लक्ष्य अघि सारे । तर, स्थानीय सरकारलाई  सुख, दुःखका सारथि सम्झिएका कतिपय स्थानीयले अझै पनि ति सरकार भएको अनुभूति गर्न पाएका छैनन् । कतिले अझै पनि स्थानीय सरकारलाई आफ्नो वैशाखी मान्न सकेका छैनन् ।

 

कतिको पीडामा अझै पनि स्थानीय सरकारले मल्हम लगाउन सकेका छैनन् । स्थानीय सरकारको उपस्थिति र समस्याका घाउमा मल्हम लगाइदिने अपेक्षामा कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ६५ वर्षीया वृद्धा बसिरहेकी छन् । तर, स्थानीय सरकारको ध्यान जान सकेको छैन । काली आमा उर्फ सरिता केसी । उमेरले ६५ पुगिन् ।

 

जस्तापाता र त्रिपालले छाएको घर उनै काली आमा भनेर चिनिने सरिताको हो । ४ दशकदेखि उनी यही घरमा बस्दै आएकी छन् । यि काली आमाको कोही छैन । दुःख सुन्ने पनि छैन सुख साट्ने पनि छैन । यो घरमा न बिजुली बत्ती छ न त खानेपानीको सुविधा नै । यौवन हुन्जेल उनले आफ्नो गुजारा मजदुरी गरेर कटाइन् । पेट पाल्नका लागि श्रम गरिन् । तर, अब उमेरले श्रम गर्न पनि दिँदैन, उनलाई । शारिरिक कमजोरीका बीच पनि आफूलाई स्याहार गरिरहेकी छन् ।

 

असारको चार र पाँच गते परेको वर्षाले महाकाली नदीमा पानीको बहाब बढेर आएको बाढी उनको यही थोत्रो घरभित्र पस्यो । तीन दिन अन्तै बसिन् । अहिले उनको घरमा न त अन्न छ न लत्ता कपडा नै । मजदुरी गरेर कमाएको धेरथोर अन्न पनि बाढीले बगायो । उनी अहिले भोकमरीसँग पौँठेजोरी खेलिरहेकी छन् । कति दिन आफूलाई सम्हाल्न सक्छिन् टुंगो छैन । 

 


काली आमा उर्फ सरिता त प्रतिनिधि पात्र हुन् । उनी जस्ता कति होलान् जो राज्यको पहुँच भन्दा बाहिर छन् । जो हरेक दिन घाम झुल्कँदा देखि घाम अस्ताउँदासम्म सरकारले दिने राहतको पर्खाइमा बस्छन् । उनी जस्ता कति होलान् जो स्थानीय सरकार वैशाखी बनिदेला भनेर आशमा बाटो हेरिरहन्छन् । तर, फगत सोच भन्दा बाहिर न त राज्य उनीहरूकोमा पुग्यो न त गाउँका सिंहदरबार नै । स्थानीय सरकार त तत्काल भोकमरी मेटाउन भन्दा पनि उनीहरू जस्ताको लगत संकलन गर्न उद्दत छ । सरिता बसेको वडा नम्बर १२ का वडाध्यक्ष अझै पनि राहत दिनु अघि भन्छन्, पहिला लगत संकलन गर्छौ। 

 

स्थानीय सरकारले नहेरिदिँदा सरिता जस्ता कतिको जीवन यसरी नै बितेको होला ? बुढ्यौलीले छोप्दा पनि राज्यले उनीहरूको उचित स्याहार गर्न सकेको छैन । कतिको यो बाढीमा सरिताको जस्तै कमाएको रकम पानीसँगै बगे होला । कतिको सपना फेरि कहिल्यै नउठ्ने गरि सकिए होला ? सरकार, थुप्रै सरिताको उद्दार गर्न जरुरी छ । थुप्रैलाई राज्य भएको महसुस गराउन जरुरी छ । यसबाट चुक्नु भनेको हजारौले यो देश र माटोप्रति गर्ने गौरव धुमिल हुनु हो । चेतना भया !