close

राष्ट्रिय प्रसारणमा जोडियो तामाकोसीको बिजुली : प्रधानमन्त्री ओलीले गरे आयोजनाको परीक्षण उद्घाटन

राष्ट्रिय प्रसारणमा जोडियो तामाकोसीको बिजुली : प्रधानमन्त्री ओलीले गरे आयोजनाको परीक्षण उद्घाटन

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले गौरवका आयोजनामा सूचीकृत गरेको र स्वदेशी लगानीमै निर्मित मुलुककै सबैभन्दा ठूलो तामाकोसी जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी ओलीले बालुवाटार निवासबाट भर्चुअलमार्फत उद्घाटन गरेका छन् ।

 

प्रधानमन्त्रीले उद्घाटन गरेसँगै आयोजनाका ६ युनिटमध्ये एउटा युनिटबाट ७६ मेगावाट विद्युत् परीक्षण उत्पादन भई राष्ट्रिय प्रसारणमा जोडिएको छ । २०६७ मा मुख्य सिभिल निर्माणको काम सुरु गरिएको आयोजनाको ४ जेठ २०६८ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए ।

 

त्यसको करिब ११ वर्षपछि तामाकोसीको पहिलो युनिटबाट विद्युत् उत्पादन भएको हो । अन्य ५ युनिटबाट विद्युत् उत्पादन गर्न आवश्यक परीक्षण भइरहेको आयोजनाले बताएको छ । ६ वटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा गएपछि आयोजनाबाट ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ । 

 

प्रधानमन्त्रीले उद्घाटन गर्न हतार गरेपछि आइतबार खिम्ती सबस्टेसनदेखि गोंगरसम्मको ४७ दशमलव २ किलोमिटर लामो विद्युत् प्रसारण लाइन चार्जिङ गरिएको बताइएको छ ।

 

०७२ को भूकम्प र त्यसपछिका पराकम्पन तथा बाढीपहिरोले पु-याएको क्षति तथा अवरोध, तराई/मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, कोरोना कहर, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारले विभिन्न वहानामा काममा गरेको ढिलाइजस्ता कारणले आयोजना निर्माण पछि धकेलिएको हो ।

 

आयोजनाको रामेछापको फुलासीमा रहेको स्टेसनमा उपकरण जडान गर्ने काम अझै सकिएको छैन । सुक्खायामका लागि रोलवालिङ खोलाबाट पानी ल्याउन आवश्यक रहेकाले रोलवालिङ डाइभर्सन बनाउन आवश्यक टेन्डर प्रक्रिया चलिरहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।

 

आयोजना उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशले बहुआयामिक लाभ प्राप्त गर्न सक्ने बताए । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिट सोमबारदेखि सञ्चालनमा आएको हो । आयोजनाबाट उत्पादित विद्युत् दोलखाको गोगरदेखि खिम्तीसम्मको कुल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमार्फत जोडिएको छ । 

 

आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सब–स्टेसनबीचको लाइन चार्ज गरेको थियो । माथिल्लो तामाकोशीको विद्युत्गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सबस्टेसनमा जोडिएको छ ।

 

आयोजनाको सुरुआती लागत ३५ अर्ब रुपैयाँ रहे पनि विभिन्न कारणले निर्माण धकेलिँदा डलरको मूल्यमा आएको उतारचढाव, ब्याजलगायतका कारण बढेर झन्डै ८० अर्ब हाराहारी पुगेको छ ।