close

चदाह खोलाले खायो १७ बिघा धान खेत 

चदाह खोलाले खायो १७ बिघा धान खेत 

Trulli
ADVERTISEMENT

सिन्धुली– सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ मा चदाह खोलाले खेतीयोग्य जमिन कटान गरेको छ । निरन्तरको वर्षापछि आएको बाढीले धान रोपाइँ गरेको खेत कटान गरेको हो ।

 

चदाह खोलाले हालसम्म धान रोपाइँ गरेको १७ बिघा खेत कटान गरेको वडा अध्यक्ष गोविन्द राउतले जानकारी दिए । उनका अनुसार ८० बढी किसानले धान रोपाइँ गरेको खेत चदाह खोलाले खेत कटान गरेको हो ।

 

चदाह नियन्त्रण गरिएका स्थानमा खेत सुरक्षित रहेको र अन्य स्थानमा भने कटान गरिरहेको छ । यस्तै, रोपाइँ गरेको २५ बिघा बढी खेत पुरेको छ ।

 

धान रोपाइँ गरिसकेका किसानले पुनः खेत बिराएर धान रोपाइँ गर्नुपर्ने गरी खेत पुरेको उनको भनाइ छ । कृषि व्यवसाय गरी दैनिक जीवनयापन गर्दै आएका दर्जनौँ किसान हरेक वर्ष चदाहको चपेटामा पर्ने गरेको स्थानीय सुनाउँछन् ।

 

स्थानीय कुमार सत्यालले यो वर्ष चदाह खोलामा पानीको बहाव उच्च रहेको बताए । उनले भने, ‘मलगायत दर्जनाँै किसानले धान रोपाइँ गरिसकेको खेतको नामोनिशान छैन । मानो रोपेर मुरी उब्जाउने भनिन्छ । तर, अहिले खेत छैन । हातमुख जोड्नै मुस्किल छ’, उनले भने । 

 

चदाहले हरेक वर्ष किसानलाई रुवाउँदै आएको छ । वर्षा सुरु भएसँगै खोलाभन्दा पहिला किसानको मन धमिलो हुन्छ । कारण, उही हो– खेत कटानको समस्या ।
उनले भने चदाह नदी नियन्त्रण नभएसम्म किसानले सास्ती बेहोर्नुपर्ने पीडित किसानको माग छ ।