close

कपुरकोटका उद्यमीलाई प्रविधि हस्तान्तरण

कपुरकोटका उद्यमीलाई प्रविधि हस्तान्तरण

Trulli
ADVERTISEMENT

सल्यान- सल्यानको कपुरकोट गाउँपालिकाले तरकारी खेती तथा बाख्रापालन गरिरहेका लघु उद्यमीलाई प्रविधि हस्तान्तरण गरेको छ । व्यवसायमा सहयोग पुर्याउने उद्देश्यसहित सल्यानमा लघु उद्यमीलाई विभिन्न सामग्री सहयोग सामग्री उपलब्ध गराइएको हो । 

 

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सोमबार कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले व्यावसायिक तरकारी खेती गरिरहेका २५ लघु उद्यमीलाई आवश्यक प्रविधि हस्तान्तरण गरे । 


थोपा सिँचाइ प्रविधि, स्प्रे ट्यांकी, पञ्जा, मास्क, एप्रोन तथा बुट हस्तान्तरण गरिएको हो । प्रविधि हस्तान्तरण गर्दै अध्यक्ष सेनले गाउँपालिकाले दिएका सामग्रीलाई सही सदुपयोग गर्न आग्रह गरे ।


गाउँपालिका क्षेत्रमा नयाँ उद्यम सिर्जना गर्न, उद्यम सञ्चालनका लागि आवश्यक पर्ने तालिम र प्रविधि हस्तान्तरणसम्मको कार्य गरिरहेको अध्यक्ष सेनले बताए ।
 
गाउँपालिकामा बाख्रापालन व्यवसाय गरिरहेका ४२ उद्यमीलाई खोर निर्माणका लागि जस्तापाता उपलब्ध गराइएको छ । प्रतिउद्यमी १ बन्डलका दरले ४२ जनालाई जस्तापाता प्रदान गरिएको लघु उद्यम विकास कार्यक्रम संयोजक दीपेन्द्र शाहीले बताए ।


गाउँपालिकामा दर्ता भएका लघु उद्यमीलाई सामग्री प्रदान गरिएको हो । गाउँपालिकाको ८० प्रतिशत र उद्यमीको २० प्रतिशत लगानीमा सामग्री वितरण गरिएको हो ।


संयोजक शाहीका अनुसार कपुरकोटका ६ वटै वडामा सीप विकास तालिम सञ्चालन गरिएको छ । साबुन बनाउने तालिम, पशुपालन, च्याउ खेती तालिम तथा च्याउको बिउ वितरण, सिलाइ-कटाइ तालिमसँगै मेसिन वितरण कार्यक्रम चालू आर्थिक वर्षमा सम्पन्न गरिएको उनले जानकारी दिए ।