close

प्रदेश गौरव आयोजनामा समेटियो सुर्खेतको वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रादेशिक रंगशाला

प्रदेश गौरव आयोजनामा समेटियो सुर्खेतको वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रादेशिक रंगशाला

Trulli
ADVERTISEMENT

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरस्थित निर्माणाधीन रंगशालालाई कर्णाली प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गर्ने भएको छ । खेलकुद पूर्वाधार शून्य रहेको कर्णाली प्रदेश सरकारले कर्णालीलाई खेलबाट अघि बढाउने लक्ष्यअनुरूप गौरवको आयोजनाको रूपमा निर्माण गर्न लागेको हो ।


प्रदेश सरकारको १६ असारको मन्त्रिपरिषद् बैठकले रंगशालालाई प्रदेश गौरवको आयोजनाको रूपमा घोषणा गरेको छ । प्रादेशिक रंगशाला निर्माण गरेर दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रदेश सरकारको लक्ष्य छ । 

 

आवश्यक पूर्वाधार नहुँदा कर्णालीमा हालसम्म कुनै पनि राष्ट्रिय स्तरका प्रतियोगिता हुन सकेका छैनन् । दुई वर्षअघि नै कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि प्रदेश सरकारले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने गरी प्राथमिकता दिएको छ ।

 

प्रदेश सरकारले आवश्यक पूर्वाधार निर्माण गर्न आगामी आर्थिक वर्षका लागि ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटमा खेलकुद क्षेत्रले प्राथमिकता पाए पनि कार्यान्वयन हुनेमा आशंका छ ।

 

सरकारको बेवास्ताका कारण नै चालू आर्थिक वर्षमा बजेट हुँदाहुँदै खेलकुदका पूर्वाधार निर्माण भएनन् । चालू आर्थिक वर्षमा प्रदेश सरकारले खेलकुदका लागि कुल १५ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएको थियो । 

 

तर, उक्त बजेट कार्यान्वयन नहुँदा आगामी वर्षको सोही नियति दोहोरिने खेलाडीको आशंका छ् । आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा पनि कर्णालीमा खेलकुद पूर्वाधारको क्षेत्रमा बजेट कार्यान्वयन शून्य रह्यो । 


कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री सीताकुमारी नेपालीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै वीरेन्द्रनगरस्थित रंगशालालाई प्रादेशिक रंगशालाको रूपमा विकास गर्ने बताइन् । 


प्रदेश सरकार अब दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा लागेको सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षत्रीले जानकारी दिए ।  हालसम्म भएका काम कारबाहीको समीक्षा गरेर नयाँ तरिकाले खेलकुद पूर्वाधार निर्माणलाई अघि बढाइने उनको भनाइ छ । 


वीरेन्द्रनगरस्थित प्रादेशिक रंगशाला बनिसकेपछि खेल क्षेत्रमा पछि परेका र क्षमता हुँदाहुँदै आफ्नो क्षमता देखाउन नपाएका खेलाडीले अवसर पाउने अखिल नेपाल एन्फा कर्णालीका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद् अध्यक्ष प्रमोद हमालले बताए ।