close

उपप्राध्यापको बदमासी: परीक्षामा सहभागी नभएकालाई उत्तीर्ण गराएपछि पद चट्

उपप्राध्यापको बदमासी: परीक्षामा सहभागी नभएकालाई उत्तीर्ण गराएपछि पद चट्

Trulli
ADVERTISEMENT

सुर्खेत- मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवां उपप्राध्यापक विश्वनाथ यादव र कानुन संकायका सुजन पन्तलाई बर्खास्त गरेको छ । यादवलाई परीक्षामा सामेलै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएकामा भने पन्तलाई प्रश्नपत्र आउट गरेकामा बर्खास्त गरिएको हो ।


परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले यादवलाई दोषी देखाएपछि सेवाबाट बर्खास्त गरिएको मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बताए । विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले मनलाग्दी नम्बर दिएको उजुरी विद्यार्थीबाट परेको थियो । 

 

सो विषयमा छानबिन गर्न दीपबहादुर रावलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिले अक्षम्य अपराध भएको ठहर गर्दै विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । त्यस्तै, बर्खास्ती पर्नेमा मध्यपश्चिम विश्वविद्यालय कानुन संकायका सुजन पन्त पनि रहेका छन् । पन्तलाई प्रश्नपत्र आउट गरेका बर्खास्त गरिएको उपकुलपति सिंहले जानकारी दिए ।


यादव स्थायी हुन् भने पन्त करार सेवाका हुन् । पन्तलाई प्रश्नपत्र आउट गरेकामा यसअघि पनि ३ महिनाका लागि निलम्बन गरिएको उपकुलपति सिंहले बताए । ‘उहाँलाई तीन महिनाका लागि निलम्बन गरिएको थियो । कमिटीको निष्कर्षपछि बर्खास्त नै गरिएको हो’, उनले भने । 

 

मध्यपश्चिम विश्वविद्यालयमा कन्स्ट्रक्सन म्यानेजमेन्ट र स्ट्रक्चरल इन्जिनियरिङ विषय पढाइ हुने गर्छ । स्ट्रक्चरल इन्जिनियरिङ विषयको अन्तिम परीक्षाको प्रयोगात्मक परीक्षामा आफूखुसी नम्बर दिएको पाइएको छानबिन समितिको ठहर छ । प्रयोगात्मक परीक्षा ४० नम्बरको हुन्छ । सो परीक्षामा १३ जना विद्यार्थीलाई ४० मा ४० नै नम्बर दिएको पाइएको छ ।

 

यसैगरी कन्स्ट्रक्सन म्यानेजमेन्टका चार वटै विषयमा विद्यार्थीलाई ३४ देखि ३७ नम्बरको दरले समान नम्बर दिइएको छ । परीक्षामा अनियमितता गरेको भनेर गल्तीसमेत स्वीकारेकाले कारबाही गरिएको उपकुलपति सिंहले जानकारी दिए ।


मध्यपश्चिम विश्वविद्यालयभित्रका शिक्षक, कर्मचारी र विद्यार्थीले गलत काम गर्नुभन्दा पहिले अब सयचोटि सोच्न बाध्य हुनुपर्ने उनको चेतावनी छ । ‘अब विश्वविद्यालयलाई नयाँ उचाइमा लैजान गलत गर्ने जुनसुकैलाई पनि कारबाही गरेर अघि बढ्छौँ’, सिंहले भने ।