close

पाटन-पञ्चेश्वर सडकमा काम गर्ने मजदुरले कहिले पाउँछन् तलव ? (भिडियो खबर) 

पाटन-पञ्चेश्वर सडकमा काम गर्ने मजदुरले कहिले पाउँछन् तलव ? (भिडियो खबर) 

ADVERTISEMENT

बैतडी- ज्याला पाउने आशमा श्रमिकले श्रम गर्छ । तलब पाउने आशमा जागिरे एक महिनासम्म मन दिएर काम गर्छ । उसको अपेक्षा हुन्छ कि काम गरेर आउने रकमले उसको घर परिवार चलाउन सजिलो होस् । ऋण तिर्न देखि परिवारको अनेक इच्छा पूरा गर्न सकिने अनेक अपेक्षा बनाएको हुन्छ । तर, यसरी आफूले काम गरेको तलब पाउन पनि लामो समय कुर्नुपर्ने हुँदा कसको मन कुँडिदैन होला र ? अझ यो महामारीको समयमा कसरी तलब बेगर घर परिवार चलाइरहेका होलान् ? यस्तै अनेक समस्यासँग जुधिरहेका छन्, बैतडीका सडक मजदुर । जसले २१ महिनादेखि तलब पाएका छैनन् । त्यसैले त अहिले उनीहरू रिले अनशनमा बस्न थालेका छन् । 

 

२१ महिनादेखि तलब नपाएपछि बैतडीको पाटन-पञ्चेश्वर सडकमा काम गर्ने लेन्थवर्कर गत शुक्रवार देखि माग पूरा नहुँदा सम्मका लागि भन्दै रिले अनसन सुरु गरेका छन् । गएको १० बर्षदेखि पाटन-पञ्चेश्वर सडकमा काम गर्दै आएका लेन्थवर्करले २०७६ साल असोजदेखि तलब पाएका छैनन् ।

 

पाटन-पञ्चेश्वर सडक प्रदेश सरकार मातहत गएपछि उनीहरुको रोजिरोटी रोकिएको हो । अहिले उनीहरूसँंग घरमा एकछाक खान अन्न छैन । विगतमा खाएको उधारो तिर्नै बाकीँ छ । त्यसैले आफ्नो रकम उपलब्ध गराउन माग गर्दै उनीहरूले पाटन नगरपालिकामा अनसन सुरु गरेका हुन् ।

 

तलब नपाउने लेन्थवर्करमा ३२ वर्ष देखि काम गर्दै आएका पनि छन् । सडक खन्ने बेला जसको खेतबारी मासेर सडक बनाइएको थियो प्रायः उनीहरूलाई नै लेन्थवर्करमा नियुक्त गरिएको थियो । अहिले उनीहरूसँग न जग्गा जमिन छ न काम गरेको रकम नै ।

 

१२ जना लेन्थवर्कर विगतमा पटक पटक उत्कृष्ट घोषित भई पुरस्कार पाउने व्यक्ति हुन् । जसले रात दिन नभई काम गरे । अहिले पनि गरिरहेका छन् । मेसिन नलागेका ठाउँमा हातैले सडक खनेर गाडी सञ्चालन गरेका थिए । तर, अहिले काम गरेको पैसा नपाउँदा उनीहरू यसरी अनसन बस्नुपर्ने अवस्था आएको छ । 


संघीय सरकार मातहत रहेको पाटन–पञ्चेश्वर सडक अहिले प्रदेश सरकार मातहत छ। सडक डिभिजन कार्यालयले पूर्वाधार विकास कार्यालयलाई सो सडक हस्तान्तरण गर्ने बेला सडकमा काम गर्ने लेन्थवर्करको पनि लिस्ट हस्तान्तरण गरेको थियो । प्रदेश सरकार मातहत आएपछि लेन्थवर्करहरुले ३ महिनाको तलब पनि बुझेका थिए ।

 

प्रदेश सरकारका तत्कालिन भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले लेन्थवर्करलाई काम गर्न मौखिक रूपमा निर्देशन दिएका थिए ।  उनीहरुको व्यवस्थापन गर्ने आश्वासन समेत दिएका थिए । तर अहिले सम्म लेन्थवर्करहरुको कुनै व्यवस्थापन गरिएको छैन ।  

 

पारिश्रमिक नपाउने लेन्थवर्करमा दलित, एकल, महिला र अति विपन्न परिवारका व्यक्ति छन् । प्रदेश सरकारदेखि सांसदले समस्या समाधान गरिदिने बताएपनि अहिलेसम्म कोहीबाट पनि समस्या निरुपण भएको छैन । संघीयता आएपछि आफूहरुको रोजीरोटी खोज्ने प्रयास भएको लेन्थवर्करहरुले आरोप लगाएका छन् ।

 

सडक डिभिजन कार्यालय मातहत पाटन-पञ्चेश्वर सडक हुँदा आफूहरुलाई कुनै समस्या नभएको र सडक प्रदेश सरकार मातहत गएपछि आफूहरु समस्यामा परेको लेन्थवर्करहरुले बताएका छन् । यसअघि लेन्थवर्करहरुले पारिश्रमिक दिलाइ दिनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । पाटन-पञ्चेश्वर सडकखण्डमा १२ लेन्थवर्करले काम गर्दै आएका छन् ।