close

स्मार्ट सिटीलाई फोहोरको खिसीट्युरी 

स्मार्ट सिटीलाई फोहोरको खिसीट्युरी 

Trulli
ADVERTISEMENT

चितवन- भरतपुर महानगरपालिकाले हरेक वर्ष ल्यान्डफिल साइटका लागि बजेट विनियोजन गर्दै आएको छ । तर, बजेट छुट्याए पनि फोहोर व्यवस्थापन नहुँदा महानगर सधैँ दुर्गन्धित हुने गरेको छ ।


स्मार्ट सिटिको रूपमा रहेको भरतपुर महानगरपालिकाको मुख्य ब्यापारीक केन्द्र नारायणगढ बजारमा फोहोर नउठ्दा बजार दुर्गन्धित बनेको छ ।


नारायणगढ बजारका मुख्य ठाउँ लायन्सचोक, सहिदचोक र पुल्चोकमा फोहोरको थुप्रो देखिन्छ । सोही बाटो हुँदै हिँड्ने जोकोही दुर्गन्ध सहन नसकेर नाकमुख छोपेर हिँड्छन् ।


व्यापारिक चहलपहल विस्तारै सुरु हुँदै छ । कोरोनाले थलिएको व्यापार व्यवसाय, चलायमान बन्दै छ । तर, ग्राहक बजारको दुर्गन्धले पसलमा पस्न सक्दैनन् ।


लामो समयको निषेधाज्ञापछि भर्खरै खुलेको नारायणगढ बजारमा फोहोरका कारण सर्वसाधारण र व्यापारी मर्कामा परेका छन् ।

 

एक सातादेखि फोहोर नउठेको बताउँदै फोहोरबाट दुर्गन्धित फैलिँदा ग्राहक आउनै छाडेको व्यापारीको गुनासो छ । भरतपुर महानगरले फोहोर उठाउन ढिलाइ गर्दा बजार क्षेत्र कुरुप देखिएको छ ।


महानगरले फोहोर व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल साइट बनाउन नसक्दा उठेको फोहोर पनि कहिले नारायणी नदी किनार त कहिले जंगलमा लगेर फाल्ने गरेको छ ।

 

हरेक वर्ष ल्यान्डफिल्ड साइट निर्माणका लागि बजेट विनियोजन गर्ने महानगरले अहिलेसम्म कामसमेत सुरु गरेको छैन ।


भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले फोहोर फाल्ने गरेको क्षेत्र वडा नम्बर २४ मा स्थानीयले रोक लगाउँदा उठ्न नसकेको जानकारी दिए । उनले भने, ‘यसको समाधानका लागि काम भइरहेको छ । हामी छिट्टै व्यवस्थापन गर्छौं ।’


निषेधकाज्ञा बेला सबै मानिस घरभित्रै रहँदा सडक झनै सफा देखिनुपर्नेमा नारायणगढ बजार र भरतपुरको दृश्य भने झन् फोहोर देखिन्छ । 


भरतपुर महानगरले फोहोर व्यवस्थापन गर्न टेन्डरमार्फत व्यवसायीलाई ठेक्का लगाएको छ । महानगरमा सामान्य अवस्थामा दैनिक ७० टन फोहोर निस्कने गर्छ ।