close

राप्तीसोनारी र नरैनापुर बाढीको उच्च जोखिममा (भिडियो खबर) 

राप्तीसोनारी र नरैनापुर बाढीको उच्च जोखिममा (भिडियो खबर) 

ADVERTISEMENT

बाँके- जब मनुसुन सुरु हुन्छ तब बाँकेका नागरिकको हंशले ठाउँ छोड्छ । सबैको मानसपटलमा २०७१ र २०७४ सालमा आएको बाढी र त्यसले पुर्‍याएको क्षतिको चित्र घुम्न थाल्छ । २०७१ सालको बाढीले बाँकेमा २० र २०७४ सालमा आएको बाढीले ८ जनाको ज्यान लिएको थियो । त्यसैले पनि हरेक वर्ष वर्षायाम सुरु भएसँगै यही नियति दोहोरिने भयमा स्थानीय रहने गर्दछन् ।

 

जिल्लाको राप्तीसोनारी गाउँपालिका होस् वा भारतले लक्ष्मणपुरमा बनाएको बाँधले नरैनापुरमा उर्लिने राप्ती नदी । अहिले बाँके जिल्ला विपद्को जोखिममा छ । संघीय सरकारले ध्यान नदिँदा लाखौँको क्षति हुने भन्दै अहिले स्थानीय सरकार आफै विपद् न्यूनीकरणमा खटिन थालेका छन् । 

 

बाँकेको राप्तीसोनारी गाउँपालिका हरेक वर्ष बाढीजन्य प्रकोपबाट प्रताडित हुँदै आएको गाउँपालिका हो । राप्ती नदीले मात्र नभई खैरी, झिझरी, सुखार, पोरुवा लगायतको खहरे खोलाको कटान, डुवानले पालिकाको ७ वटै वडामा वर्षेनी ठूलो धनजनको क्षति पुर्‍याउँदै आएको छ ।

 

गाउँपालिकाको बीचबाट पूर्वपश्चिम भएर बग्ने राप्ती नदीले हरेक वर्ष राप्ती किनारका सयौ बिघा खेतीयोग्य जमिन कटान, पटान र डुवान गर्दै आएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले गरेको विपद् नक्सांकन अनुसार यसवर्ष राप्तीसोनारी गाउँपालिकामा तीन हजार दुई सय ७९ घरधुरी प्रभावित हुनेछन् । राप्ती कटानको विषय संघीय सरकारको पनि सरोकारको विषय भएकाले नदीले गर्ने कटान र डुवान रोक्नका लागि आवश्यक तटबन्धको काम गर्नुपर्ने गाउँपालिकाको भनाइ छ । 

 

यस्तै डुवान कारणले वर्षेनि सताईएको पालिका हो, नरैनापुर । राप्ती नदीमा भारतले सीमा क्षेत्रको लक्ष्मणपुरमा बाँध बाँधेपछि नेपाली भूभाग डुवान तथा कटनाको चपेटामा पर्दै आएको छ । प्राकृतिक रुपले बग्न नपाउँदा राप्ती नदीले हरेक वर्ष बहावको धार परिवर्तन गरेर सयौं बिघा खेतीयोगय जमिन बगर बनाउदै आएको छ । यहाँका ६ वटै वडाले  हरेक वर्ष डुवानको समस्या झेल्दै आईरहेका छन् । यो समस्याको दीर्घकालिन समाधानका लागि पालिकाले संघीय सरकारको ध्यानाकर्षण गराएको छ । 

 

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यस वर्ष २० हजार आंशिक र ५ हजार घरपरिवार पूर्ण गरि २५ हजार घरपरिवार प्रभावित हुनसक्ने आकलन गरेको छ । बाँकेका विपद् प्रतिकार्यमा २५ करोड ८४ लाख १८ हजार ६ सय रुपैयाँको अजेट आवश्यक हुने अनुमान गरिएको छ । जसमध्ये हाल एक करोड ८८ लाख ९४ हजार चार सय रुपैयाँको बजेट उपलब्ध छ भने बाँकी २४ करोड १० लाख ७२ हजार दुई सय रुपैयाँ अपुग हुने अनुमान गरिएको छ ।

 

बाढीबाट ५ हजार मेट्रिक टन खाद्यान्न, १० हजार मेट्रिक टन अन्नवालीमा क्षति, ५ हजार हेक्टर खेती योग्य जमिनमा क्षति हुन सक्ने आकलन गरिएको छ । हरेक वर्ष जस्तै यसवर्ष पनि मनसुनजन्य विपद पुर्व तयारी तथा प्रतिकार्यकालागि पूर्व सूचनाको व्यवस्था गरिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेले जनाएको छ । 

 

बाँकेका राप्तिसोनारी, नरैनापुर र डुडुवा गाउपालिका मनसुन जन्य विपदको उच्च जोखिममा रहेका पालिकाहरु हुन् । यसकारण सरोकारवाला निकायले यसको दिर्घकालिन रोकथामको लागि प्रयास गर्न आवश्यक छ । यसको दीर्घकालिन समस्या समाधानको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार सबैले ठोस योजना बनाएर कार्यान्वयनमा जानुको विकल्प छैन ।