close

दुनाटपरी बुनाएर महिलालाई आत्मनिर्भर बनाउँदै चापाकोट

दुनाटपरी बुनाएर महिलालाई आत्मनिर्भर बनाउँदै चापाकोट

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको चापकोट नगरपालिकामा  सालको पात टिपेर दुनाटपरी बनाउने चलन हराउन थालेपछि नगरपालिकामा महिलालाई दुनाटपरी बनाउने तालिम दिन थालिएको छ । नगरपालिकाले प्लास्टिक विस्थापित गर्ने रणनितिसँगै महिलालाई आयआर्जनमा समेत सहयोग पुर्‍याउने उद्देश्यले विद्युतीय मेसिनबाट दुनाटपरी निर्माण गर्ने तालिम प्रदान गरिएको हो ।


अहिलेसम्म हातले नै दुनाटपरी बनाउँदै आएको र यसरी मेसिनबाट बनाउने सिप सिक्ने अवसर पाएपछि आम्दानी बढ्ने तालिममा सहभागी वडा नम्बर २ ठाँटीभन्ज्याङकी लक्ष्मी मल्लले बताइन् । ‘साउन पहिलो साताबाट सबै मिलेर जंगलमा सालको पात टिप्छौँ र दुनाटपरी बनाउँछौँ,’ मल्लले भनिन् ।


तालिममा सहकारी संस्थाका ४० जना महिलाको सहभागिता थियो । नगरपालिकाले महिलालाई उद्यमी बनाउने उद्देश्यले सञ्चालन गरेको सीपमूलक तालिमलाई सदुपयोग गरेर आयआर्जन बढाइने सहकारीकी अध्यक्ष गायत्री आचार्यले बताइन् । नगरपालिकाबाट सहयोग प्राप्त दुनाटपरी निर्माण गर्ने विद्युतीय मेसिनलाई सहकारीको सामुदायिक भवनमै सञ्चालन गरिने उनले जानकारी दिइन् ।

 

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत चापाकोटको आत्मनिर्भर महिला सहकारी संस्थाका महिला समूहलाई सीप सिकाएर दुनाटपरी बनाउने विद्युतीय मेसिनसमेत हस्तान्तरण गरिएको छ । चापाकोटका नगरप्रमुख शिवकुमार गिरीले स्थानीय वनमा खेर गइरहेको सालको पात टिपेर दुनाटपरी बनाई महिलाको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मेसिन सहयोग गरेको बताए ।

 

पूजाआजा, भोज, भतेर र कार्यक्रममा प्लास्टिकका प्लेटको विकल्पमा दुनाटपरी प्रयोगमा ल्याउने योजना अघि सारिएको छ ।  नगरप्रमुख गिरीले भने, ‘विद्युतीय मेसिन भएपछि दुनाटपरी उत्पादन गर्ने समय र लागतसमेत घट्नेछ ।’ तालिममा सिकेको सीप र आधुनिक विद्युतीय मेसिनको प्रयोगबाट महिला समूहबाट उत्पादित वस्तुको बिक्री–वितरणमा पनि नगरपालिकाले आवश्यक सहयोग गर्ने नगर प्रमुख गिरीले सुनाए ।

 

चापाकोट आसपास दुनाटपरी बनाउन प्रयोग हुने सालको जंगल प्रशस्त रहेकाले पनि महिलाले सहजै यो उद्योग सञ्चालन गर्न सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रव खनालले बताए । नगरपालिकाले सहयोग गरेको यो मेसिन सहकारीले सही सदुपयोग गर्न सके र यसलाई व्यावसायिक उत्पादनसँग जोड्न सके यहाँका महिलाको आयआर्जनमा थप टेवा पुग्ने उनको भनाइ छ ।