close

सुजिता मृत्यु प्रकरण: अभियन्ताकै कारण अनुसन्धानमा बाधा

सुजिता मृत्यु प्रकरण: अभियन्ताकै कारण अनुसन्धानमा बाधा

Trulli
ADVERTISEMENT

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले पूर्वी चितवनकी सुजिता भण्डारी मृत्यु प्रकरणको घटनामा अनावश्यक हल्लाका पछि स्थानीय दौडिँदा अनुसन्धानमा कठिनाइ भएको जनाएको छ । अनुसन्धानमै रहेको भण्डारीको शव भेटिएको घटनामा हत्या या आत्महत्या के हो भन्ने विषयमा प्रहरी नै अन्योलमा छ ।


बिहीबार प्रहरी कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका उपरीक्षक ओमप्रकाश अधिकारीले अनावश्यक हल्लाले घटनालाई अन्तै मोड्ने काम बताए । आफन्त अनुसन्धानका लागि तयार भए पनि बाह्य व्यक्तिले अवरोध खडा गरेको उनको भनाइ छ ।


पछिल्लो समय अभियन्ताको रूपमा रहेकाले काठमाडौंमा ब्यानर प्रिन्ट गरेर, झोलामा हालेर प्लेन चढेर आउने, आएको रात कुनै गाउँ गएर बास बस्ने र समूह खडा गरी अवरोध सिर्जना गर्ने काम भएको उनले बताए ।

 

सुजिता भण्डारी ११ असारमा अपहरणमा परेको भनेर प्रहरीलाई जानकारी आएलगत्तै अनुसन्धान सुरु गरे पनि २० असारमा उनको शव भेटिएको थियो । स्थानीय ब्रह्म सामुदायिक वनमा उनको शव भेटिएलगत्तै अनुसन्धानलाई अप्ठेरोमा पार्ने काम भएको उनले जानकारी दिए ।


‘सामाजिक सञ्जालमा आउने विभिन्न व्यक्तिगत अभिव्यक्ति र केही टिआरपीका लागि दौडिरहेका युट्युब मिडियाका कारण यस्ता आपराधिक क्रियाकलापमा अनुसन्धान गर्न कठिन हुने छ’, अधिकारीले भने ।


शव भेटिएको स्थानमा माउन्टेन डिउको बोतलमा सेतो पदार्थ भेटिनु, अपहरणमा परेको व्यक्तिको फोनबाट विभिन्न समय दोहोरो कुरा हुनु र इन्टरनेट प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको उनले बताए ।


अनुसन्धानका लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोली कुकुरसहित खटिएको छ भने अहिलेसम्म प्रहरीले स्थानीय र भण्डारीका आफन्तसँग सोधपुछको काम गरिरहेको छ ।