close

किन हराउँछ बेला बेलामा टेलिकमको नेटवर्क ?

किन हराउँछ बेला बेलामा टेलिकमको नेटवर्क ?

Trulli
ADVERTISEMENT

बागलुङ– नेपाल टेलिकमले वितरण गरेको ल्याण्डलाईन फोन, इन्टरनेट र मोबाईल फोनमा बेला बेलामा समस्या आउँछ । संचार सेवा अवरुद्ध हुँदा साविक धौलागिरीका चार जिल्लाका सर्वसाधारण प्रभावित हुने गरेका छन् । 


वर्षा, हावाहुरी, आगलागीजस्ता प्रकोप र विकास निर्माणको काम गर्दा समेत टेलिकम प्रभावित हुने गरेको छ । पछिल्लो पटक नेपाल टेलिकमले प्रयोगमा ल्याएको फाईबर तारका कारण पहिलेभन्दा धेरै समस्या आउने गरेको छ ।

 

काठमाडांैदेखि हेटौंडा, भैरहवा र बुटवल, पोखरा हुँदै बागलुङ ल्याइएको फाईबरमा बेला बेलामा चुडिन्छ । तामाको तार हटाएर फाईवर प्रयोगमा ल्याएको टेलिकमले उच्च गतिको इन्टरनेट र भ्वाईस डाटा दिएको छ । तर लामो दुरीमा फैलिएको तार कु्नै एक ठाउँमा टुट्दा त्यसअघिका सबै ग्राहक प्रभावित हुने गर्छन् ।  


पहिरोले फाईबरको तार चुडिँदा साविकको धौलागिरी अञ्चलका चार जिल्लामा बिहिबार बिहानैदेखि सञ्चार सेवा अवरुद्ध भयो । टेलिकमले पोखरादेखि बागलुङ ल्याएको फाईवरको तार पर्वतको कुश्मा नगरपालिका–७ चुवामा पहिरोले चुँडाईदिएको हो । 


बिहिबार बिहानैदेखि तार मर्मतको काम भएपनि दिउँसो मात्रै तार जोड्ने काम सकिएको थियो । चुवामा तार जोडेको केही समयमै कुश्मा नगरपालिका–२ अर्मादीमा गएको पहिरोले तार चुँडिएको टेलिकम बागलुङका प्रमुख इन्जिनियर केशव शर्माले बताए । 

 

तार चुडिँदा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा बिहिबार दिनभर सञ्चारसेवा अवरुद्ध भयो । ‘फाईवरबाट फोन, इन्टरनेट र टिभीसमेत चल्ने हो, एउटै तार भएकाले चुडिँदा सबै अबरुद्ध हुन्छ’ शर्माले भने ‘बाढी मिसिएको पहिरो बगिरहँदा तत्काल मर्मत गर्न कठिन हुन्छ ।’ 


नेपाल विद्युत प्राधिकरणको प्रसारण लाईनसँगै नेपाल टेलिकमको फाईवर तार विस्तार गरिएको छ । विद्युतको पोलमा पल्टिँदा वा आगलागी हुँदा र रुख बिरुवा कटानको काम चल्ने बेलामा समेत तार चुडिने गरेको छ । 


इन्टरनेट र टेलिफोन सेवा नचलेका कारण बिहिबार बिहानको समयमा मात्रै खुल्ने बैंक तथा बित्तिय संस्थाहरु प्रभावित भए । असार मसान्तको बेला भएकाले भुक्तानीका काम रोकिँदा सरकारी कार्यालयहरुमा समेत समस्या भएको थियो । 

 

नीजि कम्पनीका इन्टरनेट सेवा प्रदायकको इन्टरनेट समेत चलेको थिएनन्् । एनसेलको मोबाईल र डाटाले भने काम गरिरहेको छ । ‘लामो दुरीमा तार ल्याईएको छ, ठाउँ ठाउँमा समस्या आईरहन्छन्’ शर्मा भन्छन् ‘चुँडिएको तार एउटा बिन्दुबाट अर्को बिन्दुसम्म पुरै तार फेर्नु पर्छ, अन्यथा चुहावटको समस्या धेरै हुन्छ ।’