close

वन जोगाउन नागरिकलाई ग्यास सिलिन्डर र चुल्हो

वन जोगाउन नागरिकलाई ग्यास सिलिन्डर र चुल्हो

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डिभिजन वन कार्यालय डडेल्धुराले महाभारत वन जोगाउन ४५ परिवारलाई निःशुल्क ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेको छ । बिहीबार जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर २ को आइत बजारमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो ।

 

वडा नम्बर २ का जोशिना गाउँका दलित तथा गरिब घरपरिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।

 

घरायसी प्रयोजनका लागि दाउरा बाल्न रुख काट्दा वन फडानी हुँदै आएकाले ग्यास सिलिन्डर तथा चुल्हो वितरणले केही मात्रामा नियन्त्रणमा आउने जिल्ला समुन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले विश्वास व्यक्त गरे । 


खाना पकाउन प्रयोग हुने दाउरा उत्पादन वन क्षेत्रबाटै हुने भएकाले यसबाट बर्सेनि वन विनास बढ्दै गएको पाएपछि रुख काट्ने काममा कमी ल्याउन यो अभियान प्रभावकारी हुने उनको भनाइ छ । 

 

परम्परागत तरिकाले दाउराले खाना पकाउँदा गृहिणीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने र समयसमेत खेर जाने गरेकामा अब ग्यास सिलिन्डर तथा चुल्हो पाएपछि सहज हुने अमरगढी नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए । 

 

डडेल्धुरामा रहेको महाभारत वन जोगाउने उद्देश्यअनुसार नै ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको डिभिजन वन प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए ।


महाभारत वन क्षेत्रको प्रेसर कम होस् भन्ने उद्देश्यले गरिब तथा दलित परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको उनको भनाइ छ ।  खाना पकाउनैका लागि वनमा आश्रित भइरहेका बेला ग्यास सिलिन्डर तथा चुल्हो पाएपछि सहज हुने स्थानीय धर्मादेवी सार्कीले बताइन् । 


‘हरेक दिन दाउरा लिन वन जाँदा समस्या हुन्थ्यो । सिलिन्डर तथा चुल्हो पायौँ । हामी खुसी छौं,’ उनले भनिन्, ‘ग्यास सिलिन्डर तथा चुल्हो सहयोग गरेकामा वन कार्यालयलाई धन्यवाद ।’