close

बराहपोखरीले खरिद गर्‍यो एम्बुलेन्स 

बराहपोखरीले खरिद गर्‍यो एम्बुलेन्स 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको बराहपोखरी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । बिरामी तथा घाइते नागरिकलाई अस्पताल पुर्‍याउने र ल्याउने व्यवस्थाका लागि गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो । गाउँसभाको निर्णयअनुसार १२ लाख रुपैयाँमा खरिद गरिएको एम्बुलेन्स शुक्रबार गाउँपालिकाको कार्यालयमा आइपुगेको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।

 

भारतमा खरिद गरिएको एम्बुलेन्स लामो समयसम्म भन्सारमा अड्किएको थियो । यस्तै, ऐँसेलुखर्क गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स १५ जेठमा गाउँपालिका आइपुगेको छ । खोटाङ सेवा समाज यूकेले २०७३ चैतमा उपलब्ध गराएको एम्बुलेन्स सञ्चालन गर्दै आएको गाउँपालिकाले आफ्नै बजेटमा अर्को नयाँ एम्बुलेन्स खरिद गरेको हो । 


भारतमा करिब १० लाख भारुमा खरिद गरिएको एम्बुलेन्स वीरगञ्ज आएर केही समय रोकिएको थियो । खोटाङ सेवा समाज युकेले दिएको एम्बुलेन्स पुरानो हुँदै गएको र कतिपय अवस्थामा बिग्रेर समस्या निम्तिने गरेकाले अर्को एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । 

 

जिल्लाका १० स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा खोटाङ सेवा समाज युके, भारतीय दूतावास, खोटाङ सेवा समाज दोहा कतार, विभिन्न दाताबाट प्राप्त एम्बुलेन्स सञ्चालनमा छन् । रावाबेँसी गाउँपालिकामा भने स्वदेश तथा विदेशमा रहेका वडा नम्बर ६ हौंचुरका युवा र सोही गाउँपालिकाको संयुक्त लगानीमा खरिद गरिएको एम्बुलेन्स सञ्चालनमा छ ।