close

रत्ननगरले बाँड्यो किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण 

रत्ननगरले बाँड्यो किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण 

Trulli
ADVERTISEMENT

चितवन- चितवनको रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई आधुनिक उपकरण वितरण गरेको छ । कृषि उत्पादन बढाउन र लागत मूल्य कम गर्न नगरपालिकाले सहकारी तथा कृषि समूहमार्फत किसानलाई ट्रयाक्टरलगायत अन्य आधुनिक कृषि उपकरण वितरण गरेको हो ।


मकै उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत रत्ननगर वडा नम्बर १६ पिठुवाको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था र वडा नम्बर १२ को सुसव एकीकृत कृषि फार्मलाई ट्रयाक्टरसहित कल्टिभेटर, रोडाभेटर, हाइरो, बिउ राख्ने र मल छर्ने मेसिन, थ्रेसर, ट्रेलर र चापाकटर मेसिन उपलब्ध गराइएको हो ।


ट्रयाक्टरसहित अन्य उपकरणलाई ३० लाख रुपैयाँमा खरिद गरिएको र किसानले प्रयोग गर्ने गरी ५० प्रतिशत अनुदान अर्थात् १५ लाख रुपैयाँमा सेट उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख प्रवीण लामाले जानकारी दिए । 


पिठुवा साना किसान कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा ४ वटा चापाकटर मेसिन, वडा नम्बर ११ का किसान ईश्वरी चौलागार्इं र वडा नम्बर ३ का दर्शन महतोलाई एक–एक वटा एउटा चापाकटर मेसिन प्रदान गरिएको छ ।


त्यसैगरी सहयोगी कृषक समूह वडा नम्बर ११ लाई मकै छोड्याउने ३ वटा मेसिन, उत्पीडित कृषि सहकारी संस्था वडा नम्बर ११ का किसान युवराज शर्मा र नवपशु तथा कृषि फार्मलाई मकै छोड्याउने एक–एक वटा मेसिन प्रदान गरिएको लामाले बताए ।


त्यसैगरी सहयोगी कृषक समूह र किसान युवराज शर्मालाई एक–एक वटा मकै रोप्ने हाते मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरिएको छ । रत्ननगरका नगरप्रमुख नारायण वन एवं उपप्रमुख विमला दुवाडीले सहकारी तथा कृषि समूहका अध्यक्ष र किसानलाई उपकरण हस्तान्तरण गरे ।


नगरप्रमुख वनले किसानालाई व्यावसायिक बनाउन उपकरण दिँदा पनि चासो नदिएको बताए । ५० प्रतिशत अनुदानमा उपकरण दिँदा पनि किसानले लिन नचाहेकोे उनको भनाइ छ ।  ‘सित्तैमा पाए लिने’, उनले भने, ‘अनुदानमा दिँदा लिन नमान्ने किसान छन् ।’ 


वनले सहकारी र कृषि समूहलाई प्रदान गरिएका उपकरण दुरुपयोग नभए नगरपालिकाले फिर्ता लिने बताए । ‘अन्न उब्जनीमै उपकरण प्रयोग हुनुपर्छ’, उनले भने, ‘ट्रयाक्टर बालुवा र ढुंगा बोक्न प्रयोग भए नगरपालिकाले फिर्ता लिनेछ ।’


उपप्रमुख दुवाडीले रत्ननगर व्यावसायिक कृषिमा आधारित भएकाले सबै किसानलाई व्यवसायीमुखी बनाउने बताइन् । प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले कृषि क्षेत्रको विकासका लागि आधुनिक खेती प्रणालीमा रुपान्तरण जरुरी रहेको बताए ।