close

श्रेष्ठको 'घर तिम्रो कता पर्‍यो' गीत र म्युजिक भिडियो सार्वजनिक

श्रेष्ठको 'घर तिम्रो कता पर्‍यो' गीत र म्युजिक भिडियो सार्वजनिक

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- गायक तथा इञ्जिनयर वीरेन्द्र श्रेष्ठले एलिना चौहानसँगको युगल गायनमा ‘घर तिम्रो कता पर्‍यो ?’ बोलकोे गीत तथा म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।


बैँसालु उमेरका युवक-युवतीको भावनात्मक प्रतिक्रियालाई समेटेर तयार पारिएको गीत लोकपप जनारामा केन्द्रित छ । बैँसालु उमेरका केटाले अपरिचित तर भित्री मनले इच्छाएकी केटीलाई नजर लगाउँदाको क्रिया र प्रतिक्रियाले गीतको भाव बोलेको छ ।


‘घर तिम्रो कता पर्‍यो नेपाल देशैमा, क्या राम्रो देखिन्छ्यौ, लौन मायालु’ बोलको यो गीत झट्ट सुन्दा उनको यसअघि सार्वजनिक भएको ‘घर हाम्रो लेकैमा’ बोलको गीतसँग मिल्लोजुल्दो सुनिन्छ ।


संगीत झन्डै उस्त लागे पनि श्रेष्ठको यो पछिल्लो गीतले प्रेमिलभाव ओगटेको छ । युवा पुस्ताका लागि गीत, संगीत र म्युजिक भिडियो लोकप्रिय बन्ने विश्वास श्रेष्ठको छ । 


गायक श्रेष्ठले अपरिचित व्यक्तिको भूमिकामा घर नै सोधेपछि गायिका चौहानले गीतमार्फत नै आफ्नो परिचय दिएकी छन् । उकाली-ओराली, डाँडा र पाखाको कुरा गर्ने गीतले पहाडी परिवेश बोलेको छ ।


अपरिचितले युवकको हुलले अचाक घर कता पर्‍यो भनी सोध्दा पहिले युुवतीले दिने कडा जवाफ क्रमैसँग प्रेमिल बन्दै गएको छ । ‘के-के नै हिरो सम्झने भनेर गीतको पहिलो भागमा जवाफ फर्काउने युवती त्यसपछि भने क्रमैसँग युवाकै मनोरञ्जनात्मक लयमा फर्किएको देखिन्छ । 


वर्षा शिवाकोटी र जीवेशसिंह गुरुङले अभिनय गरेको म्युजिक भिडियो पनि उत्तिकै रोमाञ्चक लाग्छ । ‘युवा पुस्ताका लागि रहरलाग्दो गीत, संगीत र म्युजिक भिडियो तयार भएको छ’, श्रेष्ठले भने ।


उक्त गीतको भिडियोमा प्रेमको सामिप्यलाई देखाउन खोजिएको छ । दीपक शर्माको संगीत रहेको उक्त गीतको भिडियो निर्देशन रुपेश थापाले गरेका छन् । 


गीतको म्युजिक भिडियो आहा युट्युव च्यानलबाट हेर्न सकिन्छ । पछिल्लो समय चर्चित कलाकारलाई साथमा लिएर गायन कलामा पस्कने र म्युजिक भिडियो बनाउने कार्यमा व्यस्त श्रेष्ठले यो गीत पहिले नै दर्शक-श्रोताले रुचाएको घर हाम्रो लेकैमाको रिमेक भएकोे बताएका छन् ।


श्रेष्ठसँग नायक दिलिप रायमाझी, पल शाहलगायत कलाकारसँगै काम गरेको अनुभव छ । पछिल्लो समय सर्वाधिक रुचाइएकी गायिक मेलिना राई र सदावहार गायिका अञ्जु पन्तसँगको युगल गायनसमेतको अनुभव छ ।  श्रेष्ठले जाले रुमाल, पिरिमको बाढीजस्ता चर्चित सांगीतिक कोसेलीसमेत पस्किइसकेका छन् । 


ताप्लेजुङको सिरिजंगा गाउँपालिका जन्म घर भएका श्रेष्ठ पछिल्लो समय आफ्नै गृहगाउँमा सञ्चालित जलविद्युत् परियोजनामा प्रबन्धकको जिम्मेवारीमा छन् ।