close

इस्माको नवौँ गाउँसभा : खानेपानी तथा सरसरफाइ बोर्ड गठन ऐन पारित

इस्माको नवौँ गाउँसभा : खानेपानी तथा सरसरफाइ बोर्ड गठन ऐन पारित

Trulli
ADVERTISEMENT

गुल्मी– गुल्मीको इस्मा गाउँपालिकाले खानेपानी तथा सरसरफाइ बोर्ड गठन तथा परिचालन ऐन पारित गरेको छ । नवौँ गाउँसभाको पहिलो बैठकले नीति कार्यक्रम र बजेट पारित गरेको थियो ।

 

नवौँ गाउँसभाको दोस्रो बैठकबाट खानेपानी तथा सरसरफाइ बोर्ड गठन तथा परिचालन ऐन र महत्त्वपूर्ण ५ कार्यविधि पारित गरिएको गाउँपालिका प्रमुख लक्ष्मण विष्टले जानकारी दिए ।

 

इस्माभित्र खानेपानी तथा सरसफाइ सेवालाई नियमित, व्यवस्थित, गुणस्तरयुक्त र सुलभ बनाउँदै एक घर धारा अभियानलाई सफल बनाउन बोर्ड गठन गर्ने योजनामा गाउँपालिका छ ।

 

बोर्डले उपभोक्ता समितिलाई व्यवस्थित गरी खानेपानी योजनाको नियमित सञ्चालन र नयाँ योजनाका लागि विनियोजित बजेट र कार्यक्रम कार्यान्वयन गरी उपभोक्तालाई भरपर्दो सेवा प्रदान गर्ने उद्देश्य रहेको गाउँपालिका प्रमुख विष्टले जानकारी दिए ।

 

विष्टका अनुसार ऐनमा उल्लेख भएअनुसार बोर्डले गाउँपालिकाभित्र खानेपानी तथा सरसफाइ योजना र सेवा प्रणाली निर्माण, सञ्चालन, सुधार, विस्तार तथा पुनस्र्थापना गर्ने/गराउने, आगामी वर्षको कार्ययोजना र आवश्यक बजेट तयार गरी गाउँपालिकामा पेस गर्ने, जनचेतनामूलक कार्यक्रम गर्ने, दिवस समारोह मनाउने, खानेपानी तथा सरसफाइ क्षेत्रमा गाउँपालिकाले तर्जुमा गरेका नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने/गराउने उल्लेख छ ।

 

त्यस्तै, अल्पकालीन तथा दीर्घकालीन योजना तयार गरी कार्यान्वयन गर्ने/गराउने, खानेपानी तथा सरसफाइ योजना सञ्चालन र विस्तारका लागि आवश्यक आर्थिक स्रोत पहिचान गर्ने, सेवाको महसुल दर निर्धारण गरी कार्यान्वयन गर्ने/गराउने, सीप र क्षमता अभिवृद्धिमूलक तालिम आयोजना गर्ने विषय पनि ऐनमा समावेश गरिएको गाउँपालिकाका प्रवक्ता गनुप्रसाद अधिकारीले जानकारी दिए ।

 

बोर्डले पालिकाभित्रका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई संस्थामा आबद्ध गर्ने, बोर्डका पदाधिकारीको भौगोलिक वा विषयगत कार्यविभाजन गर्ने, समितिको काम, कर्तव्य र अधिकार तोक्ने तथा परिचालन गर्ने, सञ्चालित कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्ने/गराउने, आवश्यक जनशक्ति व्यवस्थालगायत कार्यपालिकाले तोकेका अन्य काम गर्ने ।

 

त्यस्तै, ऐनमा बोर्डअन्तर्गत वडा खानेपानी तथा सरसफाइ विकास समितिको व्यवस्था गरिएको छ । वडा समितिको प्रमुख काम बोर्डलाई सहयोग तथा सहजीकरण गर्ने प्रवक्ता अधिकारीले बताए ।

 

ऐनले १५ सदस्यीय खानेपानी तथा सरसफाइ बोर्डको संरचना निर्माण गरेको छ । गाउँपालिका क्षेत्रभित्रका खानेपानी उपभोक्तामध्येबाट गाउँकार्यपालिकाले मनोनीत गरेको व्यक्ति अध्यक्ष, पालिकाका प्रत्येक वडा खानेपानी तथा सरसफाइ विकास समितिले सिफारिस गरेका १/१ जना गरेर ६ जना सदस्य रहनेछन् ।

 

त्यस्तै, गाउँकार्यपालिकाले मनोनीत गरेका कम्तीमा १ दलित र २ महिलासहित ६ जना सदस्य र विज्ञता एवं आवश्यकताका आधारमा बोर्डको बैठकले मनोनीत गर्ने बढीमा २ जना बोर्डको सदस्य हुने विधायन समिति संयोजक नारायण पैयानीले जानकारी दिए ।

 

समितिको बैठक बसी सदस्यमध्येबाट समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षको छनोट गरिने पैयानीले बताए ।

 

त्यस्तै, दलित समन्वय समिति गठन तथा परिचालन कार्यविधि, आदिवासी जनजाति समन्वय समिति गठन तथा परिचालन कार्यविधि, ज्येष्ठ नागरिक कल्याणकारी समिति गठन तथा परिचालन कार्यविधि, महिला समन्वय समिति गठन तथा परिचालन कार्यविधि, युवा तथा खेलकुद विकास समिति गठन तथा परिचालन कार्यविधि, अशक्त अपांग कल्याणकारी समिति गठन तथा परिचालन कार्यविधि, २०७८ पारित गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले जानकारी दिए ।