close

हाते ट्याक्टरले विस्थापित हुँदैछन् गोरु र हली 

हाते ट्याक्टरले विस्थापित हुँदैछन् गोरु र हली 

Trulli
ADVERTISEMENT

खोटाङ- गाउँघरमा खेतबारी खनजोत गर्नका लागि गोरु र हली ज्यालामा लिने पुरानो प्रचलन हो । तर, अहिले समय बदलिएको छ । बाँझो जग्गा खनजोतका लागि हली र गोरु भाडामा लिनुपर्ने अवस्था घट्दो छ । जमाना अनुसार पहाडी क्षेत्रमा पनि जमिन खनजोतका लागि गोरु र हलीको सट्टा हाते ट्याक्टर जस्ता आधुनिक उपकरणहरु भाडामा उपलब्ध हुने वातावरण बन्दैछ । 

 

त्यही कस्टम हायरिङको अभ्यासमा जुटेको छ खोटाङको शुभम सामुदायिक सिकाई केन्द्र । यन्त्रीकरणको माध्यमबाट कृषि पेशाको व्यावसायीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित शुभम् सामुदायिक सिकाई केन्द्रले किसानलाई भाडामै प्रविधि र जनशक्ति उपलव्ध गराउने गरी सेवा सुरु गरेको छ । 

 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश१ बाट ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर, प्लान्टर, थ्रेसर, गाडी जस्ता कृषि उपकरण व्यवस्था गरेर सिकाई केन्द्रले भाडामा उपकरण वा अपरेटरसहितको सेवा उपलव्ध गराउन थालेको छ ।


 
कृषिविज्ञ मदन राईको अगुवाईमा खोटाङमा व्यवहारिक शिक्षाको अभ्यास गर्दै-गराउँदै आएको शुभम् फाउण्डेसन मातहतकै सामुदायिक सिकाई केन्द्रले प्रतिघण्टा चार सय रुपैयाँका दरले जमिन जोत्ने हाते ट्याक्टर उपलव्ध गराउने गरी सेवा सुरु गरेको हो । 

 

गाउँ-गाउँका किसान वा कृषक समुहले सामुदायिक सिकाई केन्द्रबाट उपकरण मात्र वा अपरेटर र उपकरण दुवै लैजान सक्ने शुभम् फाउण्डेसनका कार्यकारी निर्देशक सुर्य राईले बताए । 

 

फोनमार्फत माग आएको आधारमा गाडीमार्फत किसानको खेतबारीमा हाते ट्याक्टर लगायतका उपकरण र अपरेटर पुर्‍याउने व्यवस्था मिलाइएको छ । हातले हुँदैआएको खेती प्रणालीलाई विस्थापित गर्दै किसानलाई जवरजस्त यन्त्रीकरणतर्फ डोर्‍याउने प्रयासमा पहाडी क्षेत्रमै पहिलोपल्ट भाडामा कृषि उपकरण उपलव्ध गराउन थालिएको कार्यकारी निर्देशक राईले बताए । 

 

‘मधेशमा कृषिमा यन्त्रीकरण भएको छ तर पहाडमा भएको छैन । पहाडमा पनि यन्त्रीकरण गर्नुको विकल्प छैन,’ कार्यकारी निर्देशक राईले भने, ‘चुनौती त छ तर अव हातले मात्र खेती गरेर हुँदैहुन्न । जवरजस्त यन्त्रीकरणमा जानै पर्छ । सम्भवत पहाडीमा यो पहिलो कन्सेप्ट हो ।’ 

 

शुभम् सामुदायिक सिकाई केन्द्रले विशेषगरी किसानलाई भाडामा खनजोत गर्नेदेखि बालीनाली रोप्ने र उठाउने उपकरण उपलव्ध गराउने, खरिद गर्न चाहने किसानलाई उपकरण उपलव्ध गराउने, कृषि यन्त्र विग्रेको अवस्थामा मर्मत गरिदिने, किसानलाई प्रविधि सम्वन्धी जानकारी गराउने, बिउ, बेर्ना तथा किटनाशक औषधि उपलव्ध गराउने, किसानको उत्पादनलाई ढुवानी गर्नेदेखि बजारीकरणमा सहयोग गर्ने जनाएको छ । 

 

शुभम् सामुदायीक सिकाई केन्द्रले अनुदानका ६ वटा हाते ट्याक्टर तयारी अवस्थामा राखेको छ । अन्य हाते ट््याक्टर सिकाइ केन्द्रकैतर्फबाट व्यवस्था गरिएको छ । धान, मकै, गहुँ, कोदो प्लान्टर र थ्रेसर मेसिन पनि तयारी अवस्थामा राखिएको केन्द्रले जनाएको छ । सिकाई केन्द्रले जग्गा लिएर ठूलो क्षेत्रमा खेती गर्ने र स्वरोजगार बन्न चाहले बेरोजगार युवालाई प्राथमिकतामा राखेर सहयोग गर्ने जनाएको छ । 

 

पछिल्लो समय गाउँ-गाउँमा हाते ट्याक्टर पुगेको छ तर मर्मत गर्ने स्थान र जनशक्ति अभावमा धेरैजसो हाते ट्याक्टर थन्किन पुगेको छ । चलाउँदा चलाउँदै हाते ट्याक्टर थन्किन पुग्दा किसानमा प्रविधिप्रति वितृष्णा जाग्ने हुँदा मर्मतको सेवा समेत दिइने केन्द्रले जनाएको छ ।  कृषिको व्यावसायिकरणका लागि स्थानीय सरकारले हरेक वडामा कस्टम हायरिङको सेवा उपलव्ध गराउनुपर्ने कार्यकारी निर्देशक राईले बताए । 

 

सोल्माका किसान कविराज राईले शुक्रबार सिकाई केन्द्रबाट अपरेटर सहित तीन वटा हाते ट्याक्टर लगेर बाँझो जग्गा जोतेका छन् । ४/५ वर्षदेखि बाँझिएको जग्गा खनेर बन्दा, काउली, गोलभेँडा र सिमी लगाउने तयारी गरेको कविराजले बताए । 

 

‘एक त अहिले गोरु पाइन्न, पाउँदा पनि महंगो पर्छ । गोरु जोत्दा काम ढिलो हुन्छ । जोतेको ठाउँमा डल्ला उठ्छ,’ कविराजले भने, ‘हाते ट्याक्टरबाट काम चाँडो हुन्छ । गोरुभन्दा सस्तो पनि पर्छ । जोतेको ठाउँमा डल्ला उठ्दैन । कोदालोको पासोले डल्ला फोडिरहनु पर्ने झन्झट पनि हुन्न रहेछ ।’