close

बुटवलमा धमाधम बन्दैछ अत्याधुनिक पशु बधशाला (भिडियो खबर)

बुटवलमा धमाधम बन्दैछ अत्याधुनिक पशु बधशाला (भिडियो खबर)

ADVERTISEMENT

रूपन्देही- नेपाल सरकारले विगतदेखि नै उपभोक्तालाई सफा तथा स्वस्थ मासु उपलब्ध गराउन, खुल्ला वध रोक्न, व्यवस्थित पशु ढुवानी गर्न, पशुलाई पीडारहित बधका लागि विभिन्न किसिमका ऐन, नियमावली तथा निर्देशिकाहरु जारी गर्दै आएको छ । तर, पनि पशु बधशाला तथा मासु जाँच ऐन २०५५ र नियमावली २०५७ पारित भएको दुई दशक पुरा भएपनि हालसम्म यसको कार्यान्वयन हुन सकिरहेको छैन ।

 

रूपन्देहीको बुटवल उपमहानगरपालिकामा पनि पशु बधशाला निर्माण गर्ने भन्दै दुई पटक शिलान्यास भयो । कहिले व्यवसायी त कहिले स्थानीयको अवरोधले निर्माण हुन सकेन । निकै आरोह अवरोह छिचोल्दै बल्ल बधशाला निर्माण सुरु भएको छ भने निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ । 

 

दोश्रोपटक शिलान्यास गरिएको बुटवलको पशु बधशालाको भौतिक पूर्वाधार निर्माणको ४० प्रतिशत काम पूरा भएको छ । खुला स्थानमा अव्यवस्थित तरिकाले पशु बध गर्दा बजार र सडकमा प्रदुषण बढ्नेमात्र नभई उपभोक्ता स्वच्छ मासु उपभोग गर्नबाट बञ्चित भएको भन्दै तत्कालिन बुटवल उपमहानगरपालिकाले २० वर्ष पहिले नै पशु बधशालाको आयोजना अगाडी सारेको थियो । तर, लामो समय मासु व्यवसायीको असहमतिका कारण बधशालाको योजना अगाडी बढ्न सकेन ।

 

शुरुवातमा मासु व्यवसायीको असहमतिका कारण अगाडि बढ्न नसकेको बधशालापछि भने बधशालास्थलको टुंगो लाग्न नसक्दा झनै पछाडि धकेलियो । बुटवल नगरपालिकाले साविक वडा नं. १३ देविनगरमा बधशाला निर्माणको लागि जग्गा छुट्याएपनि स्थानीयको चर्को विरोधका कारण रामनगरमा जग्गा छनोट गरिएको हो ।

 

अहिले बुटवल औद्योगिक क्षेत्र अन्तर्गत पर्ने बुटवल धागो कारखानादेखि पूर्वतर्फको २८ रोपनी जग्गामा पशु बधशाला निर्माण भईरहेको छ । २०७७ साल असार ३१ गते लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले दोश्रोपटक शिलान्यास गरेपछि अहिले बधशालाको सिभिलको करिब ४० प्रतिशत काम पूरा भईसकेको छ ।

 

कुल २२ करोडको लागतमा १६ महिनामा निर्माण पूरा गर्ने गरि दोश्रोपटक शिलान्यास गरिएको बधशालाको भौतिक संरचनाको ४० प्रतिशत काम सम्पन्न भईसक्दा करिब ७ करोड रुपैयाँ लगानी भईसकेको छ । लागतको हिसाबले सिभिलवर्कको लागि भन्दा उपकरण खरिद र जडानमा धेरै रकम लाग्ने भएपनि समयको हिसाबले उपकरण जडानमा धेरै समय नलाग्ने भएकोले निर्माणको लागि सम्झौता गरिएको समयभित्रै काम पूरा हुने उपमहानगरपालिकाको दावी छ ।

 

कुल २२ करोड १३ लाख ३५ हजार ९ सय ९६ रुपैयाको लागतमा १६ महिनामा निर्माण सक्ने गरि श्री शिवशक्ति कन्ट्रक्सन प्रालिले निर्माण सम्झौता गरि काम शुरु गरेको हो । बधशालामा उपमहानगरको २५ र लुम्बिनी प्रदेश सरकारको ७५ प्रतिशत लगानी छ । 

 

प्रदेश सरकार, बुटवलका मासु व्यवसायी, पशुपालक किसान र सहकारीको सहकार्यमा निर्माण भईरहेको बधशालामा प्राविधिक तहको साझेदारी हेफर इन्टरनेशनलले गरिरहेको छ । निर्माण भईरहेको बधशालामा दैनिक एक हजार खसी, बोकाको बध गर्न सकिने छ ।