close

कोरोना नियन्त्रणमा सक्रिय बैतडीका स्थानीय तह (भिडियो खबर)

कोरोना नियन्त्रणमा सक्रिय बैतडीका स्थानीय तह (भिडियो खबर)

ADVERTISEMENT

बैतडी- वैशाखको पहिलो साताबाट सुरु भएको कोरोना महामारीको दोस्रो लहरबाट बैतडी पनि आक्रान्त बन्यो । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि संक्रमितको संख्यामा वृद्धि हुन पुग्यो । नाकामा परीक्षण नहुनु र नेपाल भित्रिने अधिकांश होम आइसोलेसनमा नबस्दा महामारीले उग्र रूप लियो ।

 

अत्यास लाग्दो संक्रमितको संख्याले पुनः एक पटक स्थानीय तहलाई नै महामारी नियन्त्रण गर्ने भूमिका निर्वाह गर्नुपर्ने भयो । स्थानीय सरकारका जनप्रतिनिधिको सुझबुझ पूर्ण निर्णयले महामारी नियन्त्रणमा आएको छ ।अहिले निषेधाज्ञा खुकुलो भएको छ । तेस्रो लहरको चेतावनी आइरहँदा स्थानीय सरकार महामारी नियन्त्रण गर्न सकिने दावीसहित तयारी अवस्थामा जुटेको छन् ।

 
बैतडी जिल्ला भारतसँंग सीमा जोडिएको जिल्ला हो । यहाँ कोरोना भाइरसको संक्रमणका दृष्टिकोणले सुरुवातमै रेड जोनको परिचय पायो । हालसम्म जिल्लाभर २५ सय जनामा संक्रमण देखिएको छ भने १८ जनाले ज्यान गुमाएका छन् । अहिले पनि बैतडीका गाउँगाउँमा कोरोना फैलिएको छ ।

 

केहि दिन यता जिल्लामा संक्रमणका कारण कसैको मृत्यु भएको छैन भने जटिल लक्षण देखिएका संक्रमितको संख्यामा पनि कमी आएको छ । महामारी नियन्त्रण गर्न सुरुदेखि नै खटिएका स्थानीय तहका जनप्रतिनिधिका कारण संक्रमण घट्दै गएको छ । 


स्थानीय तहले क्वारेन्टिन, आइसोलशन बनाउनेदेखि कोरोना अस्थायी अस्पताल बनाउने सम्मको काम गरे । कोरोना व्यवस्थापनमा अन्य सरकार भन्दा स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरे । संक्रमितको संख्या बढे लगत्तै निषेधाज्ञा जारी गरियो । संक्रमण दर घटाउन यसले सहयोग गर्‍यो ।

 

अहिले निषेधाज्ञा केही खुकुलो बनाइएको छ । तर, खुकुलो भएसँगै नागरिककै लापरवाहीले पुनः संक्रमण बढ्ने जोखिम भएसँगै स्थानीय सरकारले यसअघि अवलम्बन गरेका नीतिलाई भने निरन्तरता दिइरहेका छन् । बैतडीका अधिकांश सीमा नाका हुँदै बैतडीवासी ओहोरदोहोर गरिरहेका छन् ।

 

अधिकांशमा कोरोना परीक्षण भएको पाइँदैन । हाललाई खुला गरिएको एक मात्र नाका झुलाघाटमा भने एन्टिजेन विधिबाट परीक्षण हुने गरेको छ । अस्पतालमा पीसीआर परीक्षणलाई पनि जोड दिइएको छ । गाउँगाउँमा कोरोनाका जस्तै लक्षण भएका व्यक्ति रहेको खबर स्थानीय तहले पाएका छन् । तर, समुदायमा गएर अझै परीक्षण भएको पाइँदैन । तर, विस्तारै संक्रमणको दर घटिरहेकाले दोस्रो लहरको जस्तो सन्त्रास नहुने विश्वास स्थानीय तहको छ ।