close

५ महिनाको शुल्क नलिने सिन्धुलीका निजी विद्यालयको घोषणा

५ महिनाको शुल्क नलिने सिन्धुलीका निजी विद्यालयको घोषणा

Trulli
ADVERTISEMENT

सिन्धुली– निजी विद्यालयहरूको छाता संगठन प्याब्सन सिन्धुलीमा आबद्ध निजी विद्यालयहरूले ५ महिनाको कुनै पनि शुल्क नलिने घोषणा गरेका छन् ।

कोरोना महामारीका बेला वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गरिरहेका विद्यालयले शुल्क नलिने भएका हुन् ।

प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केले भने, ‘कोरोना महामारीका कारण शैक्षिक संस्था पूर्ण रुपमा बन्द भएपछि पठनपाठन प्रभावित भयो । हामीले विद्यार्थीलाई पठनपाठनमा जोड्न वैकल्पिक विधि अपनाएर अध्यापन गराएका छौं ।  महामारीमा हामी अभिभावकसँग पैसा लिँदैनौं ।’

प्रत्यक्ष रुपमा अनलाइन कक्षामार्फत सिकाइ सहजीकरण या रेडियो कार्यक्रम उत्पादन गरी होमवर्क प्याकेज बनाएर सिकाइ चलिरहेको उनले बताए । सरकारले अनलाइन कक्षालगायतका नाममा शुल्क लिन सक्ने बताए पनि  अभिभावकको अवस्थालाई दृष्टिगत गरी शुल्क नलिने निर्णय भएको उनले जानकारी दिए ।

जिल्लामा प्याब्सनमा आबद्ध ३३  विद्यालयले भदौसम्मको कुनै पनि शुल्क लिने छैनन् । महामारीको अवस्था बढ्दै गयो भने निजी विद्यालयले शुल्कमा पुनः विचार गर्ने मास्केको भनाइ छ ।

उनले भने, ‘सबै अभिभावकले तिर्न सक्ने अवस्था छैन । कतिको रोजगारी गुमेको छ । खाना जुटाउन नसक्ने अभिभावक पनि छन् । अतः विद्यालयले कुनै अभिभावकसँग शुल्क नलिने निर्णय गरेको हो ।’

२० हजार विद्यार्थी अध्ययनरत सिन्धुलीका निजी विद्यालयमा ५ सय बढी शिक्षक, कर्मचारी कार्यरत रहेको अध्यक्ष मास्केले बताए । प्याब्सन सिन्धुलीले अहिले वैकल्पिक माध्यमबाट अनलाइन कक्षा, होमवर्क प्याकेज, भर्चुअल कक्षा र रेडियोबाट पनि पठनपाठनलाई निरन्तरता दिएको छ ।

वैकल्पिक माध्यमबाट भएका पठनपाठनको पनि वैशाखदेखि भदौसम्मको शुल्क नलिने अध्यक्ष मास्केले बताए ।