close

नमोबुद्धको दसौं नगरसभा: ६९ करोड बराबरको संशाेधित बजेट पारित

नमोबुद्धको दसौं नगरसभा: ६९ करोड बराबरको संशाेधित बजेट पारित

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाको दसौँ नगरसभा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै सम्पन्न भएको छ । नगरसभाले नगरप्रमुख टिपी शर्मा तिमल्सिनाद्वारा १० असारमा दसौँ सभाको पहिलो बैठकमा प्रस्तुत बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो ।

 

नगरसभाले १० असारमा पेस भएको बजेटमा केही संशोधनसहित ६९ करोड ३ लाख २७ हजार ९ सय २३ रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।  चालूतर्फ १५ करोड ७ लाख ४ हजार ९ सय २३ तथा पुँजीगततर्फ ५३ करोड ९६ लाख २३ हजार रुपैयाँ खर्च प्रस्ताव गरिएको छ । आयमा आन्तरिकतर्फ १३ करोड, ८ लाख १० हजार ३ सय ९४ रुपैयाँ अनुमान गरिएको छ ।


यस्तै, राजस्व बाँडफाँटबाट ९ करोड ९६ लाख ३७ हजार ५ सय ३०, वित्तीय समानीकरणमा संघ तथा प्रदेशबाट १२ करोड ३ लाख ४ हजार, ससर्त अनुदान ३० करोड १२ लाख ७६ हजार तथा समपुरक अनुदान ३ करोड ८३ लाख रुपैयाँ छ । 


नगरसभाले स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार ः दिगो विकास र समृद्धिका लागि पूर्वाधार नारासहित विगतका नीति तथा कार्यक्रमलाई निरन्तरता दिई लोक कल्याणमा आधारित कार्यक्रम सञ्चालन गर्ने गरी तयार पारिएको नीति तथा कार्यक्रम पारित गरेको छ ।


नगरसभाबाट पारित नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने, नगरका प्रत्येक वडामा कृषि औजार बैंक स्थापना गर्ने, सबै वडामा पशु तथा कृषि बिमा कार्यक्रम विस्तार गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, नगरभित्रै शीत भण्डारको व्यवस्था गर्ने, आधुनिक पशुपक्षी वधशाला तथा कोल्डस्टोर स्थापनाका लागि पहल गर्ने उल्लेख छ । 


यस्तै, डिजिटल कृषि, कृषकको हातमा सूचना प्रणाली कार्यक्रम सञ्चालन गर्ने, नमोबुद्ध सिड बैंक स्थापना गर्ने तथा पाडी संरक्षण कार्यक्रम सञ्चालन गर्ने, बुहारी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।  नमोबुद्धले आफ्ना आमाबाबुको राम्रो पालनपोषण गर्ने सन्तानलाई सम्मान गर्ने निर्णय पनि नगरसभाबाट गरेको छ । सोहीअनुसार प्रत्येक वडाबाट २ जनालाई सम्मान गरिनेछ । 


नगरसभा बैठकले विधायन समितिका संयोजक एवं वडा नम्बर २ का वडाअध्यक्ष सञ्जीव ढकालद्वारा प्रस्तुत विनियोजन विधेयक तथा लेखा समितिका संयोजक एवं वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारीद्वारा प्रस्तुत आर्थिक विधेयक पनि सर्वसम्मत पारित गरेको छ । 

 

नगरसभा बैठकको समापन गर्दै नगर प्रमुख तिमल्सिनाले सभा सम्पन्न बनाउन साथ दिने नगरसभा सदस्यसहित सबैलाई धन्यवाद दिए । समृद्ध नगर बनाउने अभियानमा अहिलेसम्म सबैसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने तिमल्सिनाले बताए ।


कोभिड-१९ को जोखिमपूर्ण परिस्थितिमा अग्रपंक्तिमा रहेर सेवा गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, जनप्रतिनिधि, कर्मचारीलगायत सबैलाई धन्यवाद दिए । बैठकमा नगरपालिका उपप्रमुख रामदेवी तामाङले ४ वर्षदेखि सर्वसम्मतिले बजेट पारित गर्दै आएको र यस पटक पनि सर्वसम्मतिमै बजेट पारित भएकामा खुसी व्यक्त गरिन् ।


नगरपालिकामा राम्रो कार्य गर्नेलाई प्रोत्साहन व्यवस्था गरिएकाले बजेटको समयमै कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरसभाबाट पारित बजेट, नीति तथा कार्यक्रमलाई आर्थिक वर्षको सुरुदेखि नै प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने बताए ।