close

नौगाडमा बाढीपहिरोको वितण्डा (भिडियो खबर)

नौगाडमा बाढीपहिरोको वितण्डा (भिडियो खबर)

ADVERTISEMENT

दार्चुला- प्राकृतिक विपद् सुरु भइसकेको छ । गत वर्षको तुलनामा यो वर्ष अत्यधिक वर्षा हुँदा पहाडी र तराई जिल्ला बाढी र पहिरोको चपेटामा परेका छन् । सडक अवरुद्ध भएका छन् भने विभिन्न गाउँ पुग्न बनाइएका पुल पुलेसा बगाउँदा ति गाउँहरुसँग सम्बन्ध विच्छेद भएको छ । दार्चुला जिल्लामा पनि यो वर्ष बाढीले वितण्डा मच्चाएको छ ।

 

गत बुधबार आएको बाढीले जिल्लाको नौगाड गाउँपालिकामा क्षति गरेको छ । तीन जनाको ज्यान गएको छ भने चार घर बगाएको छ । ६० घर अझै पनि उच्च जोखिममा रहँदा प्रदेश र संघीय सरकारको कुनै ध्यान गएको छैन । दार्चुलाको नौगाड गाउँपालिका विपद्को दृष्टिकोणले सधैँ प्रभावित भइरहने पालिका हो ।

 

बाढी पहिरोले वितण्डा मच्चाउँदा यहाँका स्थानीयवासी दर्दनाक पीडा खेपेर बस्न बाध्य छन् । हरेक वर्ष विभिन्न खोलामा आउने बाढीले यहाँका घर संरचना बगाउनुका साथै मानवीय क्षति समेत हुने गरेको छ । गत वर्ष नौगाड खोलामा आएको बाढीले १९ घर बगाउनुका साथै ६ जनाको ज्यान गएको थियो । यस वर्ष भने गत बुधबार आएको बाढीले वडा नम्बर ३ जामिर गाउँमा चार घर बगाउनुका साथै तीन जनाले अकालमै ज्यान गुमाएका छन् । ६० घर बाढीको उच्च जोखिममा छन् । 


बाढीले नौगाडमा गरेको क्षति यति मात्रै होइन । कयौँ खानेपानी आयोजना बगाएको छ भने पुल, पानीघट्ट, लघु जलविद्युत आयोजना लगायतका संरचना ध्वस्त बनाएको छ । नौगाडका सबै वडामा पुग्ने कच्ची सडक ठाउँ-ठाउँमा भत्किएका छन् । बाढी पहिरोले मानवीय क्षति गर्नुका साथै बनाएका भौतिक संरचना हरेक वर्ष बाढीले भत्किने गरेको छ ।

 

गाउँपालिकाले घटना भएलगत्तै उद्दार तथा राहत वितरणको काम गर्ने गरेको छ भने दीर्घकालिन समाधानका लागि संघ तथा प्रदेश सरकारसँंग समस्या समाधानका लागि पहल गर्ने गरिएको जनाएको छ । नौगाडमा यसपालिको बाढीले ३ जनाको अकालमै ज्यान लिएको छ भने उनीहरुका घर, खेतबारी तथा निजी सम्पत्ति सखाप गरिदिएको छ ।

 

कयौँ सरकारी र निजी संरचना बाढीको उच्च जोखिममा छन् । नौगाडमा भएको क्षतिको अनुगमन गरि राहत प्रदान गर्न प्रमुख जिल्ला अधिकारी सिद्धराज जोसीलगायत जिल्ला स्थित सरोकारवालाको टोली शुुक्रवार ६ घण्टा हिँडेर घटनास्थल पुगेर फर्किएको छ । 


कतिपय ठाउँमा सडक खनेका कारण समेत पहिरोको जोखिम बढेको छ । कतिपय वस्ती सार्नुपर्ने अवस्थामा छन् । यसको दीर्घकालिन व्यवस्थापनका लागि स्थानीय सरकारको क्षमताले भ्याउने अवस्था भने छैन । त्यसैले नौगाडको बाढी पहिरोको समस्यामा संघीय सरकारको ध्यान जान जरुरी रहेको स्थानीयको भनाइ छ ।