close

प्रधानमन्त्री रोजगार कार्यक्रम: विकाससँगै रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रम: विकाससँगै रोजगारी

Trulli
ADVERTISEMENT

बाजुरा- सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता बाजुरामा पनि बढ्दै गएको देखिएको छ । बाजुराका ९ वटै स्थानीय तहमा सञ्चालन भएको रोजगार कार्यक्रमले विकास निर्माणसँगै रोजगारी सिर्जना गरेको हो । 


कोरोना कहरले भारतमा रोजगारी गुमाएर गाउँ फर्किनेका लागि कार्यक्रमले जीविकोपार्जनमा सहयोग पुुगेको बूढीनन्दा नगरपालिका नगरप्रमुख पदमकुमार गिरीले बताए । कोरोनाले भारतमा काम नपाएर घर फर्केका युवालाई गाउँमै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएपछि काम पाएको नगरप्रमुख गिरीले सुनाए ।
 
प्रधानमन्त्री रोजगार कार्यक्रममा योजना स्थानीय आवश्यकताअनुसार छनोट हुने गरेका छन् । काम गर्ने कामदार पनि बेरोजगार तथा कमजोर परिवारका व्यक्ति छनोट हुने गर्ने गरिएको छ । बूढीनन्दा नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ मा २४ वटा योजना प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत निर्माण भएका छन् ।


उक्त परियोजना निर्माणका लागि नगरपालिकालाई २ करोड १३ लाख ४ सय रुपैयाँ प्राप्त भएको रोजगार संयोजक रमाकुमारी शाहीले जानकारी दिइन् । योजना निर्माणसँगै ४१२ जनाले रोजगारी पाएका छन् । दैनिक काम गरेबापत ५ सय १७ रुपैयाँ उपलब्ध गराइने गरेको संयोजक शाहीले बताइन् ।

 

बूढीनन्दा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत निर्माण भएका योजना प्रभावकारी रहेको नगर उपप्रमुख सृष्टि रेग्मीले दाबी गरिन् । बेरोजगारले समस्या भोगिरहेका बेला यो कार्यक्रमले निकै सहयोग पुुगेको रेग्मीको भनाइ छ ।


बूढीनन्दा नगरपालिका वडा नम्बर ७ की गौरी रावतले भनिन्, ‘एकातिर विकास निर्माण भएको छ भने अर्कोतिर रोजगारी पाएका छौँ ।’कार्यक्रम लागू नहुनुअघि पहिला भारत जाने गरेका अधिकांश युवा गाउँमै काम पाएपछि जान छाडेको अनुभव उनको छ । सरकारले यसरी गाउँमै रोजगार सिर्जना गरे भारतजान बाट छुटकारा मिल्ने उनले बताइन् ।

 

बूढीनन्दा नगरपालिकाका ६ वटा विद्यालयमा घेरा बार तथा शौचालय निर्माण, २ वटा सिँचाइ कुलो, २ वटा खानेपानी, १२ वटा गोरेटो बाटो र २ वटा विद्युत् आयोजना निर्माण भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत प्राविधिक सहायक आयुसा सिंहले जानकारी दिइन् ।


निर्माण भएका सबै योजनामा रोजगार कार्यक्रममा छनोट भएका व्यक्तिले काम गरेको सिंहले बताइन् । बूढीनन्दा नगरपालिका वडा नम्बर १ मा रहेको माझकुलो सिँचाइ नहर जीर्णावस्थामा थियो । रोजगार कार्यक्रम आएपछि मर्मत गर्दा सञ्चालनमा आएको स्थानीय मनवीर लुहारले बताए । सिँचाइ कुलो सञ्चालनमा आएपछि समयमै धान रोप्न पाएको स्थानीय सुनाउँछन् ।

 

बाजुरा मानव सूचकांक तथा गरिबीमा पुछारमा रहेको जिल्ला हो । यहाँका अधिकांश युवा कामका लागि भारत जाने गर्छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएसँगै गाउँमै काम पाइने भएपछि भारत जान छाडेको नागरिक अगुवा पदमबहादुर सिंहले बताए ।