close

सोलु करिडोर प्रसारण लाइन रोक्न स्थानीयको अल्टिमेटम

सोलु करिडोर प्रसारण लाइन रोक्न स्थानीयको अल्टिमेटम

Trulli
ADVERTISEMENT

उदयपुर– निर्माणाधीन राष्ट्रिय गौरवको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको उदयपुरको कटारी नगरपालिका क्षेत्रमा काम रोक्न सरोकारवालाले चेतावनी दिएका छन् । 

 

प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद सेढाँइलाई ज्ञापनपत्र बुझाउँदै सरोकारवालाले ७ दिनभित्र काम नरोके त्यसबाट हुने क्षतिको जिम्मा सम्बन्धित निकायले लिनुपर्ने बताएका छन् । 

 

३ वर्षदेखि रोकिएको काम केही दिन अघिबाट सुरु गरिएको हो । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम ३ वर्षयता रोकिँदै आएकामा स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरी काम सुरु गरिएको हो ।

 

मरुवाका स्थानीयले सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पु¥याउँदै आएका थिए ।

 

जिल्ला सुरक्षा समिति उदयपुरले निर्माणाधीन राष्ट्रिय गौरवको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण आयोजनामा सुरक्षाकर्मी परिचालन गरी काम अघि बढाएको छ ।

 

निर्माणाधीन सोलु कोरिडोरको काम कुनै पनि हालतमा नरोकिने प्रमुख जिल्ला अधिकारी सेढाईंले बताए । प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको आदेशअनुरूप काम भइरहेकाले कुनै पनि अवस्थामा नरोकिने उनको भनाइ छ ।

 

आयोजना सुरक्षार्थ मरुवा माध्यमिक विद्यालय मरुवामा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ३ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरी आयोजनाको काम अघि बढाइएको प्रमुख जिल्ला अधिकारी सेढाँईले बताए ।

 

आयोजना सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) सुवासचन्द्र बोहराले जानकारी दिए । 

 

‘इलाका प्रशासन कार्यालय कटारीका प्रमुख तुलाराज सुनुवारको संयोजकत्वमा मूल्यांकन गरिएको मूल्य नै कायम गरिएको हो’, प्रजिअ सेढाँईले भने, ‘मुआब्जा मूल्याकंनमा जनप्रतिनिधि किन सहभागी भएनन् ?’ स्थानीयको माग बमोजिमको मुआब्जा पुनर्मूल्यांकनका लागि गृह मन्त्रालयमा पत्राचार गर्ने सेढाइको भनाइ थियो । 

 

आयोजनाले कटारी नगरपालिका वडा नम्बर ४ मरुवा, सिम्ले, बर्मझियाका २३ घरपरिवारको ऐलानी र नम्बर जग्गा पर्ने उल्लेख छ । प्रसारण लाइन निर्माण गर्दा १८ मिटर चौडाइको करिब ३ किलोमिटर लम्बाइ त्यस क्षेत्रमा पर्ने बताइन्छ । आयोजनाको काम ९५ प्रतिशत सकिएको र कटारीको अवरोधले समस्या आएको आयोजना प्रमुख जनार्दन गौतमले जानकारी दिए । 

 

त्यस क्षेत्रमा आधा नम्बरी आधा ऐलानी जग्गा पर्दछ ।  डेलिगेसनमा कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत, संघर्ष समितिका संयोजक केपी बराल, सर्वपक्षीय राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय उदयपुर आएका थिए । 

 

ज्ञापनपत्रमा नगरपालिकाले सिफारिस गरेबमोजिम प्रतिकठ्ठा ५० लाख रुपैयाँ कायम गरी मुआब्जा दिनुपर्ने, नम्बरी र ऐलानीसमेतको जग्गाको टावर राखेको स्थानको बराबर टावरमुनिको जग्गालाई पनि मुआब्जा दिनुपर्ने, स्थानीय सरकार, स्थानीय राजनीतिक दल तथा स्थानीयसँग वार्ता गरी सहमति जुटाएर काम अघि बढाउनुपर्ने, सुरक्षाकर्मी राखेर सुरु गरिएको काम सहमति नभएसम्म स्थगित गर्नुपर्ने, मावि मरुवाबाट प्रहरी हटाई बालबालिकाको पठनपाठन गर्ने वातावरण बनाउनुपर्नेलगायत माग राखिएको छ ।

 

उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद सुरेशकुमार राई, नगर प्रमुख श्रेष्ठ तथा राजनीतिक दलका प्रतिनिधि स्थलगत रूपमै मरुवा पुगेर सुरक्षाकर्मीलाई सहमति नभएसम्म काम अघि नबढाउन आग्रह गरेका थिए । तर, पनि कामलाई प्रशासनले निरन्तरता दिइरहेको छ ।

 

प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत सर्त राखेर स्थानीयले काममा अवरोध गर्दै आएका थिए ।