close

२ वर्षमुनिका बालबालिकालाई प्रोत्साहन भत्ता

२ वर्षमुनिका बालबालिकालाई प्रोत्साहन भत्ता

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले २ वर्षमुनिका बालबालिकालाई प्रोत्साहन भत्ता वितरण गरेको छ । बच्चा गर्भमा छँदा आमाले ४ पटक गर्भजाँच गरेको, जन्मिसकेपछि बालबच्चाले सबै खोपको मात्रा पूरा गरेको, नियमित स्वास्थ्य जाँच गराएको, जन्मदर्ता गराएकोलगायत मापदण्ड पूरा गरेको आधारमा शिशु पोषण प्रवर्द्धन कार्यक्रमअन्तर्गत मासिक जनही १ हजार रुपैयाँका दरले २ वर्षमुनिका ४९१ बालबच्चालाई प्रोत्साहन भत्ता वितरण गरेको हो ।


७ वडा रहेको गाउँपालिकामा गत २१ देखि २८ असारसम्म टोल–टोलमा पुगेर चालू आर्थिक वर्षको गत साउनदेखि असारसम्मको शिशु पोषण प्रवर्द्धन भत्ता वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मुस्ताक अहमद मन्सुरीले बताए ।


गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राई, सम्बन्धित वडाका स्वास्थ्य चौकी इन्चार्जलगायतले वालबालिकाका अभिभावकलाई प्रोत्साहन भत्ता वितरण गरेका हुन् । गाउँपालिकामा स्वस्थ नागरिक उत्पादन गर्दै स्वस्थ पालिका निर्माणका लागि शिशु पोषण प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष राईले बताए । 

 

वडा नम्बर १ याम्खाका ९२, वडा नम्बर २ डाँडागाउँका ७२, वडा नम्बर ३ छोरम्बुका ६०, वडा नम्बर ४ बतासेका ६१, वडा नम्बर ५ सछितापोखरीका ७०, वडा नम्बर ६ छितापोखरीका ३८ र वडा नम्बर ७ टेम्माका ९८ जना बालबच्चालाई शिशु पोषण प्रवर्द्धनअन्तर्गतको भत्ता वितरण गरिएको हो । 

 

नियमित स्वास्थ्य जाँच गराएको उल्लेख गरेर स्वास्थ्य संस्थाले उपलब्ध गराएको प्रमाणका आधारमा गाउँपालिकाले १३ वैशाख २०७५ देखि प्रोत्साहन भत्ता वितरण सुरु गरेको हो । गाउँपालिकाले आयोजना गरेको विशेषज्ञसहितको निःशुल्क बृहत् स्वास्थ्य शिविर उद्घाटनका क्रममा पूर्वस्वास्थ्यमन्त्री गगन थापाको हातबाट पहिलोपल्ट शिशु पोषण प्रवर्द्धन भत्ता वितरण सुरु गरिएको थियो । 

 

गाउँपालिकाले प्रोत्साहन भत्ता वितरण गर्न थालेपछि गर्भवती आमाले नियमित गर्भजाँच गराउन थालेको, जन्मिसकेका बालबच्चालाई पनि नियमित स्वास्थ्यजाँच तथा नियमित खोप लगाउने संख्यामा सुधार आएको छ । शिशु पोषण प्रवर्द्धन कार्यक्रमबापतको भत्ता २ वटा बच्चा भएसम्म मात्र उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।


‘भ्रष्टाचाररहितजस्तै स्वस्थ गाउँपालिका बनाउन हामीले २ वर्षमुनिका बालबच्चाका लागि प्रोत्साहन भत्ता दिन थालेका हौँ’, गाउँपालिका अध्यक्ष राईले भने, ‘प्रोत्साहन भत्ताका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्नेछ । २ वटा बढी बच्चा जन्माएको हकमा भने प्रोत्साहन भत्ता दिइने छैन ।’