close

नगर विकास कोषको सप्तरीस्थित कञ्चनरुप सहरी खानेपानी आयोजनासँग ऋण सम्झौता

नगर विकास कोषको सप्तरीस्थित कञ्चनरुप सहरी खानेपानी आयोजनासँग ऋण सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं- नगर विकास कोषले सप्तरीस्थित सहरी खानेपानी आपूर्ति तथा सरसफाइ क्षेत्र आयोजनाअन्तर्गत कञ्चनरुप सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माणका लागि १० करोड ९९ लाख १३ हजार रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ ।

 

आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएको बोलपत्रदाताले पेस गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्तितर्फ) को लागत ४३ करोड ९६ लाख ५३ हजार रुपैयाँको २५ प्रतिशत रकम १० करोड ९९ लाख १३ हजार रुपैयाँ कोषबाट ऋण लगानी हुनेछ ।

 

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र कञ्चनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भुवन केसीबीच ऋण सम्झौता भएको हो । कञ्चनरुप सहरी खानेपानी तथा सरसफाइ आयोजनामा सरकारबाट ७० प्रतिशत अनुदान, कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम उपभोक्ता संस्थाबाट बेहोरिने प्रावधान छ ।आयोजनाले कञ्चनरुप नगरपालिकाको वडा नम्बर ४, ७, ८, ९ र १२ का २७०१० जनसंख्यालाई ९ वटा डिप बोरिङको माध्यमबाट २४ सै घन्टा खानेपानी सेवा पुर्‍याउने लक्ष्य छ ।

 

सम्झौता अवसरमा कञ्चनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष केसीले आयोजनालाई समयमै सम्पन्न गर्न कोष, आयोजना व्यवस्थापन कार्यालय र नगरपालिकाबाट निरन्तर व्यवस्थापकीय तथा प्राविधिक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

 

ऋण सम्झौतामा जमानतकर्ताको रूपमा हस्ताक्षर गरेका कञ्चनरुप नगरपालिका, सप्तरीका नगरप्रमुख वसन्त कुमारले आयोजनालाई परिणाममुखी बनाउन नगरपालिका जिम्मेवार हुने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले नगरपालिका क्षेत्रमा निर्माण हुने आयोजनाको दिगो सञ्चालन र व्यवस्थापनमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने धारणा व्यक्त गरे । आयोजना समयमै सम्पन्न भई सम्बन्धित क्षेत्रका उपभोक्तालाई सहज ढंगबाट खानेपानी सेवा प्रवाह गर्न सफल हुने विश्वास उनको छ ।