close

राप्ती गाउँमै मिले ५८ विवाद

राप्ती गाउँमै मिले ५८ विवाद

Trulli
ADVERTISEMENT

दाङ- दाङको राप्ती गाउँपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७७/७८ मा ५८ वटा विवाद निरुपण गरेकाे छ । राप्ती गाउँपालिकामा न्यायिक समितिले यो आर्थिक वर्षको ३० असार २०७८ सम्म ४३ वटा विवाद दर्ता भएको र गत वर्षको निरुपण हुन बाँकी विवाद १५ गरी ५८ वटा विवादउपर छलफल गराई निरुपण गरेको न्यायिक समिति संयोजक जगदम्बाकुमारी चौधरीले जानकारी दिइन् ।


न्यायिक समितिको यो आर्थिक वर्षको ३० असारसम्म ३० वटा बैठक बसी मेलमिलापको माध्यमबाट ५८ वटा विवाद सर्वसम्मत निर्णय गरी मेलमिलाप गराइको बताइएको छ । राप्ती गाउँपालिकामा न्यायिक समितिले निर्णय कार्यान्वयनमा सहयोग गर्न २ वटा प्रहरीमा, ९ वटा अदालतमा र २ वटा वडा कार्यालयमा सिफारिस गरिएको छ । 


गाउँपालिकामा उपाध्यक्ष चौधरीको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति क्रियाशील छ । समितिमा वडा नम्बर १ का वडाध्यक्ष ताराबहादुर डिसी र वडा नम्बर ७ का वडाध्यक्ष विद्याशरण चौधरी सदस्य रहेका छन् ।


स्थानीय सरकार सञ्चालन ऐनको दफा ४७ को १ र २ बमोजिम आउने विवादमा राप्तीमा मेलमिलापको माध्यमबाट न्याय सम्पादनको काम भइरहेको छ । न्यायिक समितिले काम गर्ने क्रममा सहजता ल्याउन आठौँ गाउँसभाबाट बजेट विनियोजन गरी न्याय सम्पादनका लागि इजलास, उजुरी, न्यायिक समिति कर्मचारी, तामिलदार, वडागत रूपमा सूचीकृत मेलमिलापकर्ता, वडामा मेलमिलाप केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरिएको न्यायिक समिति संयोजक चौधरीले बताइन् ।


राप्तीमा आलीधुर, बाँध, पैनी, कुलो वा पानीघाटको बाँडफाँट तथा उपयोगसम्बन्धी २ वटा, ज्याला मजुरी नदिएकोसम्बन्धी २ वटा, ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेकासम्बन्धी २ वटा, नाबालक छोराछोरी वा पति-पत्नीलाई इज्जत आमदअनुसार खान–लाउन वा शिक्षादीक्षा नदिएकोसम्बन्ध ३ वटा मुद्दा बाँकी छन् ।


यस्तै, वार्षिक २५ लाख रुपैयाँसम्मको बिगो भएको घर वहाल र घर वहाल सुविधासम्बन्धी १ वटा, कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाउसम्बन्धी १ वटा, सरकारी, सार्वजनिक वा सामुदायिकबाहेक एकाको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाई खाएकोसम्बन्धी १२ वटा रहेको न्यायिक समितिका सञ्चार संयोजक तीर्थराज ज्ञवालीले जानकारी दिए । 


यसैगरी सरकारी, सार्वजनिक वा सामुदायिकबाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएकोसम्बन्धी ११ वटा, पति-पत्नीबीचको सम्बन्ध विच्छेदसम्बन्धी १७ वटा, अंगभंगबाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिटसम्बन्धी १, गाली बेइज्जतीसम्बन्धी २, लुटपिटसम्बन्धी १, अर्काको हक भोगमा रहेको जग्गा आवाद वा भोगचलनसम्बन्धी १ र नागरिकता को हकसम्बन्धी २ वटा कार्यसम्पादन तथा दर्ता भएका विवादको संख्या रहेको उनले बताए ।


राप्ती गाउँपालिका न्यायिक समितिमा दर्ता भएको ३५ दिनभित्रै निर्णय भएका विवादको संख्या २५, दर्ता भएको ३५ दिनपछि निणर्य भएका विवादको संख्या ३३ छ । समितिको निणर्य चित्त नबुझी पुनरावेदन गएका विवादको संख्या एउटा छ ।


राप्ती गाउँपालिका क्षेत्रमा विगतमा विभिन्न संघ-संस्थाबाट मेलमिलापकर्ताको तालिम लिई साविक लालमटिया र सिसहनिया गाविसमा काम गर्दै आएका १ देखि ९ नम्बर वडासम्मका मेलमिलापकर्तामध्ये योग्यता पुगेकालाई पुनर्ताजगी तालिम दिई सूचीकृत गरिएको छ ।