close

अन्नपूर्ण गाउँपालिकाद्वारा खोपारा र खयर क्षेत्रमा पदमार्ग निर्माण सुरु

अन्नपूर्ण गाउँपालिकाद्वारा खोपारा र खयर क्षेत्रमा पदमार्ग निर्माण सुरु

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित पर्यटकीय स्थल खोपारा र खयर भारानी ताल जोड्ने पदमार्ग निर्माण सुरु भएको छ ।


गाउँपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ का लागि विनियोजन गरेको १० लाख रुपैयाँ बजेटबाट पाउद्वारदेखि खोपारा हुँदै खयर जाने बाटोमा अप्ठेरो ठाउँ पहिचान गरी पदमार्ग निर्माण थालिएको हो । 


लरेनीमा १ सय ५०, डेरीबासमा १ सय, दोबाटोमा १ सय  ५०, खोपारामा २० र चिन्नेखर्कमा ४ सय मिटर गरी ८ सय २० मिटर पदमार्गका साथै खोपारामा भल व्यवस्थापनका लागि नाली र ३ थान ग्याबिन पर्खाल निर्माण गरिने उपभोक्ता समितिका अध्यक्ष राकेश पुर्जाले बताए ।


गाउँका बेरोजगार युवाहरूलाई पदमार्ग निर्माणमा परिचालन गरिएको छ । बस्तीदेखि टाढा पदमार्ग निर्माण गर्न कार्यक्षेत्रमै क्याम्प खडा गरिएको छ । दैनिक २५ युवालाई प्रतिव्यक्ति १ हजार रुपैयाँ ज्याला दिने गरी पदमार्ग निर्माणमा परिचालन गरिएको हो ।


‘समूह–समूह बनाएर युवाहरूलाई काममा लगाइएकाले विकाससँगै रोजगारी र आयआर्जनको अवसर मिलेको छ’, उपभोक्ता समितिका सचिव सविता तिलिजा पुनले भनिन् । समुद्री सतहदेखि ३ हजार ६ सय ६० मिटरको उचाइमा अवस्थित खोपारा लेक हिमाल, पहाडी भूगोल, सूर्योदय, सूर्यास्तको मनमोहन दृश्यावलोकनका साथै प्राकृतिक र जैविक विविधताका दृष्टिले महत्वपूर्ण छ ।

 

खोपारादेखि १ दिनको पैदलयात्रापछि बराह शिखर हिमालको फेदीमा रहेको खयरभारानी तालको दर्शन र पूजाआजा गरे मनले चिताएको पूरा हुने जनविश्वास भएकाले धार्मिक पर्यटनको सम्भावना छ । 


पाउद्वार गाउँका बासिन्दाले आफन्तको नाममा खोपारा र खयरभारानी जाने बाटोमा पदमार्ग, चौतारी, धर्मशाला बनाउँदै आएकामा यस वर्ष गाउँपालिकाले पहिलो पटक बजेट विनियोजन गरेको कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताए ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत पर्ने शिखको बयली, ढाडखर्क हुँदै खोपरा जोड्ने अर्को पदमार्ग निर्माणका लागिसमेत गाउँपालिकाले यसै वर्ष १० लाख बजेट विनियोजन गरेर काम सुरु गरेको छ ।