close

२३ करोडको लागतमा धरानमा बन्ने भो स्मार्ट बसपार्क 

२३ करोडको लागतमा धरानमा बन्ने भो स्मार्ट बसपार्क 

Trulli
ADVERTISEMENT

धरान– सुनसरीको धरानमा स्मार्ट बसपार्क निर्माणका लागि निर्माण व्यवसायीसँग अन्तिम सम्झौता भएको छ । धरान उपमहानगर र निर्माण व्यवसायी गीताञ्जली जेभी दुहबी सुनसरीबीच बसपार्क निर्माणको सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

 

धरान उपमहानगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको उपमहानगरका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिए ।

 

वडा नम्बर ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाको मल्टिप्रपोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको छ ।

 

कम्पनीले १५ दिनभित्र निर्माण कार्यलाई अगाडि बढाइने इञ्जिनियर श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बसपार्क २३ करोड १५ लाख ३ हजार २ सय ९६ रुपैयाँ ४६ पैसामा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीसँग सम्झौता भएको हो । 

 

उनले भने, ‘बसपार्क ३ वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्नेछ । ५० प्रतिशत सरकारको अनुदान रहनेछ भने बाँकी ५० प्रतिशत स्रोत धरान उपमहानगरले व्यवस्थापन गर्नेछ ।’ 

 

उपमहानगर प्रमुख राईले लामो समयदेखि थाती रहेको योजनालाई सम्झौता गरेर अगाडि बढाउन लागिएको बताए । ‘धरानको विकास र समृद्धिका लागि लामो समयदेखि बसपार्क निर्माण योजना थियो । अब चाँडै पूरा हुने भयो ।’

 
चाँडोभन्दा चाँडो बसपार्क निर्माण सकियो भने धरानको सुन्दरता थप झल्किने राईको धारणा छ । राईले बसपार्क निर्माण योजना समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीसँग आग्रह गरे ।

 

उपप्रमुख भण्डारीले ३० वर्षदेखि जनप्रतिनिधिले देखेको सपना अब पूरा हुन लागेको बताइन् । 

 

निर्माण व्यवसायी गीताञ्जली जेभीका सञ्चालक सपन दासले १५ दिनभित्र बसपार्क निर्माण थालिने जानकारी दिए । तोकिएको समयभित्र निर्माण पूरा गर्ने उनले प्रतिबद्धता जनाए ।