close

मेलम्चीका बाढी प्रभावित ३ सय महिलालाई स्वास्थ्य सेवा 

मेलम्चीका बाढी प्रभावित ३ सय महिलालाई स्वास्थ्य सेवा 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल परिवार नियोजन संघले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका बाढी प्रभावित लक्षित एकीकृत प्रजनन स्वास्थ्य शिविर आयोजना गरेको छ ।


गत १ असारमा मेलम्ची नगरपालिकाको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले नगरका वडा नम्बर ६, १० र ११ मा भौतिक क्षति पुर्‍याएको थियो ।


शिविरमा पाठेघरका मुखमा हुने अर्बुद परीक्षण, एचआईभी परीक्षण तथा परामर्श, गर्भवती, परिवार नियोजनका स्थायी तथा अस्थायी, प्रयोगशाला, लैंगिकताका आधारमा गरिने हिंसा हुन नदिन परामर्श सेवा प्रदान गरिएको संघका कार्यक्रम निर्देशक सुवास श्रेष्ठले जानकारी दिए ।


शिविरमा ३ सय महिलाले सेवा लिएका थिए । नगरपालिका र हेलम्बु गाउँपालिकामा १ हजार गर्भवती रहेका र तिनलाई तत्काल स्वास्थ्य सेवा आवश्यक रहेको जनाइएको छ । 


उनले भने, ‘विपद् अवस्थामा गास, बास र कपासपछि पहिलो प्राथमिकतामा प्रजनन स्वास्थ्य सेवा तत्काल आवश्यक पर्छ । यही आवश्यकतालाई ध्यान दिई स्वास्थ्य शिविर आयोजना गरेका हौँ । स्थानीयबाट पुनः माग भए शिविर सञ्चालन गर्न तयार छौँ ।’


संघले ६ दशक बढी समयदेखि निरन्तर प्रजनन स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । संघका प्रशासक डा नरेशप्रताप केसीले सस्थाले स्थानीयको मागअनुसार एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।


सोही अवसरमा नगरपालिकामा आवश्यक पर्ने परिवार नियोजनका अस्थायी साधन तथा महिलाका लागि ‘डिग्निटी किट’ हस्तान्तरण गरेको संघका पैरवी अधिकृत जमुना सिटौलाले बताइन् ।


नगरप्रमुख डम्बरबहादुर अर्याललाई संघका कार्यक्रम अधिकृत श्रेष्ठले ती सामग्री हस्तान्तरण गरे ।संघले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कोभिड–१९ महामारी अवस्थामा पनि आफ्नो सेवा निरन्तर जारी रहेको जनाएको छ । देशका विभिन्न स्थानमा रहेका आफ्ना क्लिनिकमार्फत सन् २०२० मा ३३ लाखलाई विभिन्न सेवा उपलब्ध गराइएको र यो सन् २०१९ को सामान्य अवस्थामा प्रदान गरिएको सेवाभन्दा १५ प्रतिशत मात्र कमी रहेको संघले बताएको छ । 


संघले सेवाको पहुँचबाट वञ्चित, सीमान्तकृत समुदाय, यौन तथा लैंगिक अल्पसंख्यक, यौनकर्मी महिला, एचआईभी÷एड्स संक्रमित तथा अपांगता भएका व्यक्तिका लागि निःशुल्क सेवा उपलब्ध गराउँदै आएको छ ।


संघका सेवाग्राहीमध्ये लगभग ९० प्रतिशत सेवाको पहुँचबाट वञ्चित ती समूह रहेका छन् भने ३० प्रतिशत सेवाग्राही युवा तथा किशोर–किशोरी छन् ।

 

विशेषगरी कोभिड महामारी अवस्थामा कुनै पनि सेवाग्राही यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यौन तथा प्रजनन स्वास्थ्य सेवा र हेल्पलाइन सेवा प्रदान गर्न सङ्घका सेवाप्रदायकको योगदान प्रशंसनीय रहेको जनाइएको छ । 


संघले महामारीको समय परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व तथा नवजात शिशु तथा बाल स्वास्थ्य, एचआईभी/एड्स, यौन संक्रमणलगायत प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श दिन हेल्पलाइन व्यवस्था गरेको छ ।