close

राप्ती गाउँपालिका पूर्ण खोपयुक्त घोषणा

राप्ती गाउँपालिका पूर्ण खोपयुक्त घोषणा

Trulli
ADVERTISEMENT

दाङ– दाङको राप्ती गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषणा भएको छ । राप्ती गाउँपालिका पूर्ण खोप समन्वय समितिले गत २१ असारमा पूर्ण खोपयुक्त पालिका घोषणा सिफारिस गरेको थियो ।


पालिकाका १५ महिनाभित्रका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार लिनुपर्ने सम्पूर्ण खोप लिएको पाइएकोले जिल्ला जनस्वास्थ्य कार्यालय दाङले प्रमाणीकरण प्रक्रिया पूरा गर्दै बिहीबार आर्थिक वर्ष २०७७/७८ मा पूर्ण खोपयुक्त पालिका घोषणा गरेको स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिए । 

 

‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नारासहित राप्ती गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको कारण स्वास्थ्य कार्यालयले पूर्ण खोपयुक्त पालिका घोषणा गरेको हो । 


घोषणासभामा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाही, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारीको सहभागितामा खोप लगाउने काम सम्पन्न भएको हो ।

 

सरकारले सबै लक्षित बालबालिकाले जन्मेको १५ महिनाभित्रै राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार पूर्ण खोप प्राप्त गरी विभिन्न रोगबाट सुरक्षित हुन सकून् भन्ने अभिप्रायले पूर्ण खोपको अवधारणा सुरु गरेको हो ।


कार्यक्रममा खोपबाट छुट भएका सबै बालबालिकालाई पूरा खोप पाउने वातावरण सिर्जना गरी २३ महिनाभित्र पूर्ण खोप लगाईने स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिए । 


घोषणा कार्यक्रममा खोप लगाउने कार्यमा सहयोग पुर्‍याउने ९ वटै वडाका खोप समन्वय समिति संयोजक र सदस्य सचिवलाई सम्मान गरियो ।


९ वटै वडा पूर्ण खोप समन्वय समितिका संयोजक तथा स्वास्थ्यकर्मी ताराबहादुर डिसी, रमा पौडेल, जगतबहादुर थापा, कमला न्यौपाने, चन्दर चौधरी, पुनम कुमाल, विष्णुबहादुर घर्ती क्षेत्री, जानकी रोका, गोवद्धन रावतलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरियो ।


यस्तै, कन्या चौधरी, वेदप्रसाद चौधरी, चन्दा चौधरी, विद्याशरण चौधरी, गोकर्णबहादुर राना, रिमबहादुर सुनारी, यज्ञबहादुर कार्की पनि सम्मानित भएका छन् । 


जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले गाउँपालिका अध्यक्ष सुवेदी, उपाध्यक्ष चौधरीलाई समेत प्रमाणपत्र प्रदान गरे ।