close

डडेल्धुरा अस्पतालमा ‘विस्तारित अस्पताल सेवा कार्यक्रम’ लागू  विशेषज्ञ चिकित्सक भने अभाव

डडेल्धुरा अस्पतालमा ‘विस्तारित अस्पताल सेवा कार्यक्रम’ लागू  विशेषज्ञ चिकित्सक भने अभाव

Trulli
ADVERTISEMENT

डडेल्धुरा- संघीय सरकार मातहतको सुदूरपश्चिमको एक मात्रै अस्पताल डडेल्धुरा अस्पतालमा ‘विस्तारित अस्पताल सेवा कार्यक्रम’ लागू भएको छ । कार्यक्रमअन्तर्गत बिरामीले थप शुल्क तिरे अतिरिक्त समय पनि उपचार पाउनेछन् । 

 

अपराह्न ४ देखि बेलुकी ७ बजेसम्म बिरामीले विस्तारित सेवामार्फत उपचार पाउने अस्पतालले जनाएको छ । सेवा लिन बिरामीले एमडी चिकित्सकका लागि ५ सय र एमबिबिएस चिकित्सकका लागि ३५० रुपैयाँ थप शुल्क तिर्नुपर्नेछ । 

 

‘विस्तारित अस्पताल सेवा कार्यक्रम’ लागू भएपछि कुनै चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पतालबाहिर चिकित्सकीय सेवा प्रदान गर्ने छैनन् ।  सरकारको स्वास्थ्य नीतिअनुरूप डडेल्धुरा अस्पतालमा विस्तारित सेवा सञ्चालन गरिएको हो । 


बिहान १० देखि दिउँसो १ बजेसम्म बिरामीले २० रुपैयाँमा टिकट काट्ने गरेका छन् । विस्तारित सेवामा यो समयपछि पनि टिकट काट्न पाउनेछन् । कुन चिकित्सकबाट जाँच उपचार गर्ने भनी त्यसअनुसारको रकम तिर्नुपर्नेछ । 

 

चिकित्सक र बिरामीको फाइदाका लागि विस्तारित सेवा सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले बताए । अन्य सेवाशुल्कमा पनि दोब्बर रकम तिर्नुपर्ने उनको भनाइ छ । आवश्यकताअनुसार अस्पताल व्यवस्थापन समितिले २५० रुपैयाँ थप गर्न सक्ने उनले बताए । 

 

विशेषज्ञ चिकित्सक अभाव 

विस्तारित सेवा सञ्चालन गरिने भए पनि अस्पतालमा विशेषज्ञ चिकित्सकको पद पूर्ति हुन सकेको छैन । १९ जना विशेषज्ञ चिकित्सक हुनुपर्ने डडेल्धुरा अस्पतालमा ६ जना मात्रै छन् । ६ जनामध्ये पनि ५ जना छात्रवृत्तिमा अध्ययन गरेका हुन् ।

 

यस्तै, १८ जना मेडिकल अधिकृत हुनुपर्नेमा हाल ६ जना मात्रै छन् । एक जना मेडिकल अधिकृत छात्रवृत्तिमा अध्ययन गरेका हुन् । पाँच जना भने करारका हुन् । 

 

चिकित्सकको पद पूर्तिका लागि प्रत्येक महिना सूचना जारी गरी मन्त्रालयसँग आग्रह गर्दासमेत पूर्ति हुन नसकेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझाले बताए ।