close

औषधी बोकेर नमोबुद्धका मेयर गाउँगाउँमा

औषधी बोकेर नमोबुद्धका मेयर गाउँगाउँमा

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मा तिमल्सिना औषधीसहितका स्वास्थ्य सामग्री बोकेर कोरोना संक्रमित नागरिकको घर-घरमा पुग्न थालेका छन् । नगरका केही स्थानमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि नगरप्रमुख तिमल्सिना औषधी र स्वास्थ्यकर्मीको टोली लिएर नागरिकको घर-घरमा पुग्न थालेका हुन् ।


 सोही क्रममा शुक्रबार नगरप्रमुख तिमल्सिना नमोबुद्ध ४ जोरसल्लाको बस्तीमा पुगे । उक्त बस्तीका धेरै मानिसमा लक्षणसहित कोरोना भाइरसको संक्रमण फैलिएको पाइएपछि नगरप्रमुखको नेतृत्वमा कर्मचारी र स्वास्थ्यकर्मीको टोली पुगेको हो । 


उक्त टोलीले नमुनाको रूपमा बस्तीका २४ जनाको एन्टिजेन विधिबाट कोभिड-१९ को परीक्षण गरेको थियो । यसमध्ये ९ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । नगरप्रमुख तिमल्सिनाले पोजेटिभ देखिएकाको घरमै पुगेर अत्यावश्यक औषधी, मास्क तथा स्यानिटाइजर वितरण गरेका छन् ।


उनले नगरबासीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै कुनै स्वास्थ्य समस्या देखिए तत्काल नगरपालिकामा खबर गर्न आग्रह गर्दै उपचारका लागि व्यवस्था गर्ने बताए । आफू पनि कोभिड-१९ संक्रमित भइसकेकाले त्यसपछिमा स्वास्थ्य समस्याबाट मुक्त भएर हालै बाहिर निस्किएको जानकारी दिए ।


नगरप्रमुख तिमल्सिनाले सामाजिक दूरी कायम गर्न, मास्क तथा स्यानिटाइजर प्रयोग गर्न आग्रह गरे । आत्मबल र स्वास्थ्य सजगताबाटै कोभिड-१९ सँग लड्न सहज हुने तिमल्सिनाको भनाइ थियो । नगर प्रमुख तिमल्सिनाले अहिले नमुनाको रूपमा परीक्षण गरिएको र केही दिनमा बृहत् रूपमा परीक्षण अभियान सञ्चालन गरिने जानकारी दिए ।


तिमल्सिनाले कोभिड-१९ संक्रमणबाट मुक्त भएका नगरबासीसँग भेटघाट गरे । टोलीमा नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नम्बर ४ का अध्यक्ष उद्धवप्रसाद काफ्लेलगायत सहभागी थिए । टोलीमा सहभागी स्वास्थ्यकर्मीले कोभिड-१९ पोजेटिभ देखिएकालाई सचेतना जगाउने कार्यक्रम चलाउनेछन् । 

 

वडा नम्बर ४ को प्रभावित क्षेत्र सिल

नमोबुद्ध नगरपालिकाले बस्तीको अवस्थाबारे बुझेर, स्थानीयसँगको समन्वयसँगै वडा नम्बर ४ को प्रभावित क्षेत्र सिल गर्ने निर्णय गरेको छ । शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी ७ साउनसम्म प्रभावित क्षेत्र सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

 

नगरपालिकाले वडा नम्बर ४ को जोरसल्ला, फुस्रे डाँडा, लालदेवी बस्ती, श्रीराम बस्ती, सूर्य बस्ती, सार्की टोल, कामी टोल र चिसापानी बस्ती पूर्ण रूपमा सिल गरेको हो । यो अवधिमा औषधी पसल र स्वास्थ्य संस्थाबाहेक खाद्यान्न पसल, दूध र दुग्धजन्य पदार्थ बिक्री गर्ने पसल, मासुजन्य पसल, फलफूलजन्यलगायत सबै पसलह बन्द गर्ने निर्णय गरिएको छ । 


यस्तै, बैंक तथा सहकारीलगायत वित्तीय संस्था र अन्य कार्यालय पनि बन्द रहनेछन् भने अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ । 

 

खोप अभियानको अनुगमन

नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरमा सञ्चालन भइरहेको कोभिड-१९ विरुद्धको खोप अभियानको पनि अनुगमन गरेका छन् । तिमल्सिनाले जनक माविस्थित खोप केन्द्र पुगेर ५५ वर्षमाथिका नागरिकका लागि सञ्चालन भइरहेको खोप अभियानबारे जानकारी लिएका छन् । 


उनले नगरका स्वास्थ्य संस्थाका लागि आवश्यक खोप पनि सम्बन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरे । लक्षित वर्गका कुनै पनि नागरिक खोपबाट वञ्चित नहुने गरी खोप अभियान चलाउन नगर प्रमुख तिमल्सिनाले निर्देशन दिए ।


नमोबुद्धमा २०७७ माघदेखि सुरु भएको खोप अभियानअन्तर्गत अहिलेसम्म ६ हजार २ सय ५६ जनाले खोप लगाइसकेका छन् । अब खोप लगाउन बाँकी १८ वर्षमाथिका नगरबासीको संख्या २० हजार ४ सय ६७ छ ।