close

वडाले सघाएपछि थामडाँडाका विपन्न समुदाय बंगुरपालनमा

वडाले सघाएपछि थामडाँडाका विपन्न समुदाय बंगुरपालनमा

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको भीमाद नगरपालिका वडा नम्बर ९ थामडाँडाका विपन्न दलित समुदायले बंगुरपालन सुरु गरेका छन् । आर्थिक स्तर उकास्ने उद्देश्यले उनीरुले कालो बंगुरपालन सुरु गरेका हुन् । यहाँका १९ घरधुरीले बंगुरपालनका लागि समूह बनाएका छन् । समूहमा आबद्ध हरेक घरधुरीले २ वटाका दरले बंगुरपालन थालेका हुन् ।


समृद्ध जीवन सुनौलो कृषि अभियानअन्तर्गत कालो बंगुरपालनका लागि वडा कार्यालयले सघाएको छ । बंगुरको खोर निर्माण र बच्चा खरिदका लागि वडाले अनुदान उपलब्ध गराएको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिए । उनका अनुसार वडाले थामडाँडाको समूहलाई ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।


‘परम्परागत तरिकाले पशुपालन गरिरहेका किसानलाई व्यावसायिक बनाउने वडाको योजना छ’, उनले भने, ‘किसानको मागअनुसार वडाले पशुपक्षीपालनमा सघाउनेछ ।’  वडालाई पशुपंक्षी पालनमा नमुना र आत्मनिर्भर बनाउने लक्ष्य रहेको वडाध्यक्ष थापा बताउँछन् । थामडाँडाका किसानलाई भीमाद नगरपालिका पशु शाखाले बंगुरपालन गर्न ३ दिने आधारभूत तालिमसमेत दिएको थियो ।


कालो बंगुरपालनलाई व्यावसयिक बनाएर नमुना गाउँ बनाउने स्थानीयले वाचा गरेका छन् । दैनिक ज्याला मजदुरी, वैदेशिक रोजगारीमा भर परेका गाउँलेले परम्परागत कृषि र पशुपालन गर्दै आएको स्थानीय जितबहादुर विकले बताए । ‘आर्थिक हिसाबले पछाडि छौँ । बंगुरपालनलाई व्यावसायिक बनाएर आत्मनिर्भर हुने उद्देश्य छ’, उनले भने । 


२ वटा बंगुरपालनबाट सुरु गरेको व्यवसायलाई बढाउँदै लैजानले उनले जनाए । कालो बंगुरको बजारमा माग भएको कारण बजारीकरणमा समस्या नहुने उनी बताउँछन् । वडा नम्बर ९ को सखेपमा कुखुरापालन, मोहोरियामा बंगुर र बाख्रापालन, कटनछापमा बाख्रापालन, असपाक्दी भाटडाँडामा मौरीपालन सुरु गरिएको छ ।  किसान र वडाले ५०/५० प्रतिशत लागत साझेदारी गरेका छन् ।


हरेक वर्ष यो अभियानले निरन्तरता पाउने वडाध्यक्ष थापा बताउँछन् । ‘पहिलो वर्ष पूर्वाधार निर्माण र पशुपक्षी खरिदमा सघाउँछौँ । दोस्रो वर्षबाट बजारीकरण र प्राविधिक ज्ञानमा हाम्रो जोड हुन्छ’, उनले भने । बाख्रा, कुखुरा, बंगुर, मौरीपालन र सुन्तला खेतीका लागि वडा उपयुक्त रहेको वडाध्यक्ष थापाले सुनाए ।