close

लमजुङका २२ उद्योगलाई घरेलुद्वारा प्रविधि हस्तान्तरण

लमजुङका २२ उद्योगलाई घरेलुद्वारा प्रविधि हस्तान्तरण

Trulli
ADVERTISEMENT

लमजुङ– घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जिल्लाका २२ उद्योगलाई प्रविधि हस्तान्तरण गरेको छ । कार्यालयमा दर्ता भई सञ्चालित उद्योगको प्रवद्र्धनका लागि उद्योगलाई प्रविधि हस्तान्तरण गरिएको हो । 

 

आर्थिक वर्ष २०७७/७८ को दलित समुदाय लक्षित कार्यक्रमअन्तर्गत प्रविधि हस्तान्तरण गरिएको कार्यालय प्रमुख तोपलाल भुसालले बताए । उनका अनुसार दलित समुदाय लक्षित कार्यक्रमअन्तर्गत विनियोजित १५ लाख रुपैयाँ बजेटबाट प्रविधि खरिद गरी हस्तान्तरण गरिएको हो । 

 

कार्यालयले ८० प्रतिशत अनुदानमा उद्योगलाई प्रविधि हस्तान्तरण गरेको हो । उपकरणका लागि आवेदन दिएकामध्ये २२ उद्योग छनोट गरि सामग्री हस्तान्तरण गरेको कार्यालयले जनाएको छ । 

 

उद्यमीलाई प्रोत्साहन र उद्योगको प्रवद्र्धनका लागि फर्निचर उद्योग, ढुंगा कटिङ उद्योग, सिलाइ–कटाइ, बाख्रा तथा पशु फार्म, कृषि औजार उद्योग, प्लम्बिङ उद्योग, लेडिज टेलर्स, सुनचाँदी पसल, सुज सेन्टर, आर्टलगायत उद्योगलाई प्रविधि हस्तान्तरण गरिएको भुसालले बताए ।

 

८ वटा फर्निचर, ६ वटा टेलर्स, ३ वटा सुनचाँदी पसललगायत उद्योगलाई प्रविधि हस्तान्तरण गरिएको हो । कार्यालयका अनुसार ३ थान साइजर मेसिन, ३ थान चेन्सो मेसिन, जुत्ता सिलाउने मेसिन, ढुंगा कटिङ मेसिन, ल्यापटप, जुकी मेसिन, इन्भर्टर सोलार, चापाकटरलगायत उपकरण वितरण गरिएको हो ।

 

जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डे, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, कार्यालय प्रमुख भुसाललगायतले उपकरण हस्तान्तरण
गरे ।

 

कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पाण्डेले विभिन्न व्यवसायमा आबद्ध उद्यमीलाई आधुनिक यन्त्रउपकरणमार्फत उत्पादनलाई वृद्धि गर्न सहज हुने विश्वास व्यक्त गरे ।

 

उपकरण प्राप्त भएसँगै प्रयोगमा चुनौती रहेकाले सही सदुपोग गर्न उद्योगी व्यवसायीलाई उनले आग्रह गरे । उपकरण हस्तान्तरणले उद्योगी व्यवसायीलाई थप हौसला प्रदान गरेको प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए । 

 

२०४९ मा स्थापना भएको कार्यालय १ भदौ २०७६ देखि गण्डकी प्रदेश सरकार मातहत छ । कार्यालयले उद्योग र वाणिज्य प्रशासन (दर्ता, नवीकरण, नामसारी, ठाउँसारी सीप विकास) उद्यमशीलता विकास तालिम, आवश्यक प्रविधि र उपकरण हस्तान्तरण, उद्योग प्रवद्र्धनलगायत काम गर्दै आएको छ ।