close

हरिनगरका ९१ सुत्केरी महिलालाई कोसेली पोषण झोला

हरिनगरका ९१ सुत्केरी महिलालाई कोसेली पोषण झोला

Trulli
ADVERTISEMENT

सुनसरी- सुनसरीको हरिनगर गाउँपालिकाका गर्भवती र सुत्केरीलाई लक्षित गरी पालिकाले कोसेली कार्यक्रम सञ्चालनमा ल्याएका छन् । शिशु जन्मिएको एक हजार दिनसम्म आमा र बच्चालाई कोसेली दिने कार्यक्रमलाई पालिकाले प्राथमिकता दिएको हो ।


गाउँपालिकाले ७ वटै वडाका बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत ९१ जना सुत्केरी महिलालाई पोषण झोला वितरण गरेको हो । कोसेली कार्यक्रमअन्तर्गत सुरुमा उपाध्यक्षले गर्भवती र सुत्केरीको घरमै पुगेर पोषिलो खानेकुरा र सरसफाइका सामग्रीहरू राखिएको झोला वितरण गर्छन् ।

 

सम्बन्धित वडाका स्वास्थ्य संस्थामार्फत गर्भवती र सुत्केरीले कोसेली पाउनेछन् । गाउँपालिकाले यसै साताबाट गर्भवती र सुत्केरीलाई कोसेली दिन सुरु गरेको उपाध्यक्ष रिझिमकुमारी भगतले बताइन् ।  नियमअनुसार चार पटक गर्भजाँच गरेका, स्वास्थ्य संस्थामै सुत्केरी भएका महिलालाई कोसेली दिन थालिएको उनको भनाइ छ ।


ग्रामीण क्षेत्रमा घरमै असुरक्षित रूपमा सुत्केरी हुने, आमा र बच्चाको स्वास्थ्यमा खासै ध्यान नदिने चलन यथावत छ । उनीहरूलाई कोसेली कार्यक्रममार्फत यसबारे सचेत गराउन थालिएको उनले बताइन् ।  ‘यो वर्षदेखि कोसेली कार्यक्रम लागू गरेका हौँ । सबै गर्भवतीलाई स्वास्थ्य संस्थामै आएर सुत्केरी गराउन तथा आफ्नो र बच्चाको स्वास्थ्यमा ख्याल गर्न प्रेरित गरेका छौँ,’ उनले भनिन् । उपाध्यक्ष भगतका अनुसार म्याक्सी, बच्चाको तौलिया, आयोडिनयुक्त नुन, प्याड, घिउ, मञ्जन, ब्रसलगायत पोषण र सरसफाइका सामग्री दिने गरिएको छ ।

 

बच्चाको कम्बल, भटमास, दाल, घिउ, जुवानो, साबुन, मन्जन, ब्रसलगायत पोषिलो र सरसफाइका सामग्री राखिएको झोला ‘हजार दिने’ आमालाई दिने गरिएको हरिनगर गाउँपालिकाका स्वास्थ्य संयोजक प्रकाश थापा मगरले बताए । यस वर्षदेखि लागू गरिएको कार्यक्रमले आमा र बच्चामा देखिने कुपोषण घटाउने लक्ष्य लिएको उनको भनाइ छ । पोषणको अवस्थामा सुधार ल्याउन र संस्थागत सुत्केरीको संख्या बढाउन कोसेली कार्यक्रम प्रभावकारी हुने उनको विश्वास छ । 

 

बच्चा जन्माइसकेपछि केही महिला फर्केर फेरि स्वास्थ्य संस्था नजाने भएकाले उनीहरूलाई त्यसप्रति सचेत बनाउन कोसेली कार्यक्रम प्रभावकारी हुन थालेको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष भगतले दाबी गरिन् । सुत्केरीको संख्या बढाउन, घरमा हुने सुत्केरी शून्य पालिका बनाउन, सबै बच्चा र आमालाई स्वास्थ्य परीक्षणको पहुँचमा पुर्‍याउने कार्यक्रमको लक्ष्य रहेको छ ।

 

कार्यक्रमका कारण गर्भवती र सुत्केरी अवस्थामा स्वास्थ्य संस्थामा आएर सेवा लिन, चेकजाँच गराउन सचेत हुँदै गएको हरिनगर गाउँपालिकाको घुस्की स्वास्थ्य चौकीका प्रमुख रानी खातुनको दाबी छ । उनका अनुसार घरपरिवारले पनि आमा र बच्चाको स्वास्थ्यमा ख्याल राख्न थालेका छन् ।