close

नगरको पहलमा भीमदत्तको फोहोरमैला व्यवस्थापन 

नगरको पहलमा भीमदत्तको फोहोरमैला व्यवस्थापन 

Trulli
ADVERTISEMENT

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाको फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी एवं व्यवस्थित गर्न युएनडिपीको आर्थिक सहयोग र भीमदत्त नगरपालिकाको साझेदारीमा निड्स नेपालले हरित पुनर्स्थापना प्रवर्द्धन आयोजना सञ्चालन गरेको छ । झन्डै १० महिनासम्म सञ्चालन हुने उक्त परियोजनाको आइतबार उद्घाटन गरिएको छ । 


कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाको फोहोरमैला व्यवस्थापन गर्न सरोकारवालासँगको सहयोगमा कार्यक्रम अगाडि बढाइने बताए । फोहोरमैला व्यवस्थापनका लागि भीमदत्तले निजी क्षेत्रसँग साझेदारी गर्न तयार रहेको बताउँदै उनले निजी क्षेत्रलाई सहकार्यका लागि आह्वान गरे ।

 

कार्यक्रममा पिजिआरपीका परियोजना संयोजक केशवराज पन्तले उक्त परियोजनाको उद्देश्यसहितको भावी कार्ययोजना प्रस्तुत गरे । फोहोरमैला व्यवस्थापनलाई आगामी दिनमा आर्थिक उत्पादनसँग प्रत्यक्ष जोड्नुपर्नेमा उनको जोड छ । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले फोहोरमैला व्यवस्थापनसँगै हरियाली कायम गर्न नगरभित्र रहेको खाली जमिनलाई हरियाली पार्कमा परिणत गर्नुपर्ने र कुहिने फोहोरमैलाबाट घर–घरमै प्रांगारिक मल बनाउनुपर्नेमा जोड दिए । 

 

कार्यक्रमको सहजीकरण भीमदत्त नगरपालिकाका वातावरण अधिकृत गणेश ठगुन्नाले गरेका थिए । कार्यक्रममा सहभागीले बढ्दो बजारीकरणसँगै फोहोरमैला व्यवस्थापन चुनौतीको रूपमा देखिन थालेकाले दिगो समाधान खोज्नुपर्नेमा जोड दिए ।