close

तमानखोलाको आफ्नै पाठ्यक्रम

तमानखोलाको आफ्नै पाठ्यक्रम

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङको तमानखोला गाउँपालिकाले आफ्नै पाठ्यक्रम तयार गरेको छ । नयाँ शैक्षिक सत्रबाट गाउँपालिकाले कक्षा १ देखि ५ सम्म आफ्नै पाठ्यक्रम लागू गरेको हो । गाउँपालिकाले तयार गरेको पाठ्यक्रम समावेश गरेको पुस्तक तयार भएको छ । सबै विद्यालयमा पाठ्यपुस्तक पठाइसकेको गाउँपालिकाले जनाएको छ । 

 

गाउँपालिकाका २१ सामुदायिक र २ निजी गरी २३ विद्यालयमा पाठ्यपुस्तक पठाएको शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले बताए । पाठ्यपुस्तकमा तमानको कला, संस्कृति, भूगोल, खानी, कृषि, वन पैदावार र प्राकृतिक स्रोतको विषय समेटिएको छ ।

 
गाउँपालिका अध्यक्ष संयोजक र शिक्षा अधिकारी सदस्य सचिव रहेको ७ सदस्यीय पाठ्यक्रम निर्धारण समितिले पाठ्यपुस्तक तयार गरेर कार्यान्वयनमा ल्याएको हो । पाठ्यक्रम विकास केन्द्रले गाउँपालिकाले तयार गरेको पाठ्यक्रम र पाठ्यपुस्तकलाई अनुमति प्रदान गरेपछि पठनपाठन सुरु भएको अध्यक्ष जोकलाल बुढाले बताए ।

 

२०८० सम्म पालिकाले माध्यमिक तहका लागि पनि पाठ्यपुस्तक तयार गर्ने लक्ष्य राखेको उनले जानकारी दिए । स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सम्भावनालाई विषयवस्तु बनाएर पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्न सक्ने संवैधानिक व्यवस्थाअनुसार तमानखोलाले स्थानीय पाठ्यक्रम तयार गरेको हो ।


पाठ्यपुस्तकको नाम ‘मेरो तमानखोला’ राखिएको छ । साताको चार दिन पठनपाठन हुने गरी १०० पूर्णांकको पाठ्यक्रम तयार गरिएको घर्तीले बताए । १०० पूर्णांकलाई २ खण्डमा एउटा अनिवार्य र अर्को ऐच्छिक खण्ड गरेर विभाजन गरिएको छ ।

 

पाठ्यक्रम निर्माणका क्रममा स्थानीयदेखि राष्ट्रिय विज्ञको रायसुझाव लिइएको थियो । पाठ्यक्रमलाई प्रदेश स्थानीय पाठ्यक्रम निर्माण प्राबिधिक सहजीकरण समितिको सहजीकरण र मार्गनिर्देशनपछि पुस्तक तयार गरिएको गाउँपालिकाले जनाएको छ ।