close

१२ कक्षाको परीक्षा साउन अन्तिमबाट

१२ कक्षाको परीक्षा साउन अन्तिमबाट

Trulli
ADVERTISEMENT

काठमाडाैं- कोरोना महामहारीका कारण स्थगित १२ कक्षाको अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतझैं १०० पूर्णांकको लिखित परीक्षा लिइने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।


राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले विद्यार्थीको भौतिक उपस्थितिमै १२ कक्षाका परीक्षा गर्न अनुमति दिएको बताए । सोहीअनुसार साउन अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको उनले जानकारी दिए ।


यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न सिसिएमसीसँग अनुमति मागेको थियो । अब एक–दुई दिनभित्रै बोर्डको बैठक बसेर परीक्षाबारे कार्यतालिका सार्वजनिक गरिने भएको छ ।द्यबोर्डले यसपटक १०० पूर्णांककै परीक्षा सञ्चालन गर्ने भएको छ । गत वर्ष कोरोना महामारीका कारण १२ कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई ४० पूर्णांकको परीक्षा लिइएको थियो । 


अब भने १२ कक्षाका विद्यार्थीले ३ घन्टाकै परीक्षा दिनुपर्नेछ । १२ कक्षा अध्ययन गर्ने विद्यार्थी उच्च शिक्षामा प्रवेश गर्ने र विदेशी विश्वविद्यालयमा अध्ययनका लागि जाने हुँदा गुणस्तरमा कमी गर्न नहुने भएकाले लिखित परीक्षा नै लिने निष्कर्षमा बोर्ड पुगेको हो ।


कोरोना संक्रमण अझै कायमै रहेको अवस्थामा विद्यार्थीलाई सामाजिक दूरी कायम गराउने तथा स्वास्थ्य मापदण्डको समेत पालना गरेर परीक्षा लिने योजना रहेको जानकारी अध्यक्ष पौडेलले दिए । परीक्षामा ‘होम सेन्टर’ कायम गर्ने या नगर्ने, परीक्षा केन्द्र थपलगायतको परीक्षाको नीतिगत विषयमा छिट्टै टुंगोमा पुग्ने उनले बताए ।


एक विद्यार्थीको अर्को विद्यालयमा परीक्षा लिन जान सम्भव नदेखिएकाले होम सेन्टर हुन सक्ने सम्भावना छ । कोरोना संक्रमण बढेपछि गत २६ जेठबाट सुरु गर्ने योजना रहेको १२ कक्षाको अन्तिम वार्षिक परीक्षा सरकारले रोक्ने निर्णय गरेको थियो ।


यसअघि सिसिएमसीले त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम र द्वितीय वर्षको परीक्षा सञ्चालनका लागि अनुमति दिएको थियो । सोहीअनुसार मंगलबारबाट विश्वविद्यालय परीक्षा सुरु भएको छ ।