close

छोराको ज्यान बचाइदिन आमाको विलौना 

छोराको ज्यान बचाइदिन आमाको विलौना 

Trulli
ADVERTISEMENT

महोत्तरी- मानविकी संकायमा पढ्दापढ्दै महोत्तरीका १८ वर्षीय गौतम कार्कीलाई ब्रेनमा रगत जमेको देखियो । नेपालमा उपचार हुन सक्दैन भन्दै काठमाडौंको वीर अस्पतालले विदेशमा राम्रो अस्पताल खोज्न सल्लाह दिएपछि गौतमकी आमा डोमा कार्कीलाई खर्च कसरी जुटाउने भन्ने पिरलो थपिएको छ ।


अघिल्लो वर्ष मात्र रक्त क्यान्सरको कारण जेठो छोरा गुमाएकी डोमालाई कान्छो छोरा सिकिस्त बिरामी भएपछि कमजोर आर्थिक स्थितिले उपचार गर्न नसक्ने स्थिति छ । जेठो छोरालाई रक्त क्यान्सरका कारण गुमाइसकेकी डोमालाई कान्छो छोरा जसरी पनि बचाउनुपर्नेछ किनकि कान्छो छोरा बुढेसकालका सहारा पनि हुन् ।


उमेरमै पति गुमाउनु, जेठो छोरालाई क्यान्सरका कारण गुमाउनु, कान्छो छोरालाई ब्रेनमा रगत जमेर नेपालमा उपचार हुन नसक्ने चिकित्सकको भनाइपछि आमा डोमाले सहायताका लागि विलौना गरेकी छन् । मन बुझाउन कान्छो छोरा हेर्दै चित्त बुझाइरहेकी डोमाले गौतमलाई पनि सघन रोग लागेपछि यतिवेला सहयोगको याचना गरिरहेकी छन् ।


उनले छोरालाइ जेनतेन भारतको नयाँदिल्लीस्थित अखिल भारत आयुर्विज्ञानमा भर्ना गरिन् तर त्यँहाको महँगो शुल्कले धान्न सक्ने अवस्था भएन । डोमा आफन्त र मनकारी नेपाली दाजुभाइसँग सहयोगको हारगुहार मागिरहेकी छन् ।  डोमासँग न सम्पत्ति बेचेर उपचार गर्न जमिन छ, न प्रशस्त बैंक ब्यालेन्स, न त भरथेग गर्ने श्रीमान् नै छन् । 


सहयोगको याचना

डोमाको आर्थिक स्थितिलाई नजिकबाट नियालेका बर्दिबासका नागरिक उनको छोराको ज्यान बचाउन सहयोगमा जुटेका छन् । सोमबार मात्र बर्दिबास नगरपालिकाका नागरिकले व्यक्तिगत र संस्थागत गरी १ लाख ६३ हजार ३ सय रुपैयाँ सहयोग गरे ।


‘उनको दयनीय अवस्था देखेपछि हामीले बर्दिबासभित्र रहेका विभिन्न संस्था र व्यक्तिसँग सल्लाह गरी यो पैसा गौतमको उपचारका लागि सहयोग गरेका छौँ । सहयोग अभियानलाई निरन्तरता दिन्छाैँ,’ होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष सुदीप कार्कीले भने ।


संस्थागत रूपमा नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, पर्यटन व्यवसायी संघ, होटल तथा मनकारी व्यक्ति तथा व्यवसायीले सहयोग गरेको कार्कीले जानकारी दिए । मनकारीको सहयोगले छोराको ज्यान बचाउन सकिनेमा बिरामी कार्कीकी आमा डोमालाई आत्मविश्वास बढेको छ ।